काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत यान्छी आज बिहान खुमलटार पुगेकी थिइन् ।
भेटमा नेपाल–चीन सम्बन्ध र दुई देशका पार्टीबीचको सहकार्यका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा यान्छीले प्रचण्डलाई चिनियाँ राष्ट्रपति सि झिङपिङको किताब उपहार दिएकी छिन् ।
नेकपाभित्र शक्ति संघर्ष बढिरहेका बेला अध्यक्ष प्रचण्ड र राजदूत यान्छीबीचको भेट भएको हो । त्यसैले यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेकपा विवादकैबीच यसअघि २ मंसिर साँझ राजदूत यान्छीले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी थिइन् । उनले नेकपा सचिवालय बैठकको अघिल्लो दिन ओलीलाई बालुवाटार पुगेर भेटेकी थिइन् ।
चीनबाट हुन लागेको उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेई फेङ्हे यही १४ मंसिरमा नेपाल भ्रमणमा आउँदैछन् ।
गतवर्ष चीनका राष्ट्रपति सिले भ्रमण गरेयता नेपालमा चिनियाँ उच्च अधिकारीको भ्रमण भएको छैन ।