काठमाडौँ । आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित ‘विश्वकर्मा पूजा’ मनाइँदै छ । समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ ।
आजको दिन उद्योग, कलकारखाना, ग्यारेज, वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदुर, कलाकार, शिल्पकार र उद्यमीहरूले आ–आफ्ना मेशिनरी सामान तथा औजारहरूको सफाइ गरी विशेष पूजा गर्ने गर्दछन् । यस्तै, नयाँ सवारीसाधन खरिद गर्ने तथा भएका सवारीसाधनलाई काठमाडौँको भद्रकाली, दक्षिणकालीलगायत देशभरका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्नेहरूको मन्दिर परिसरमा बिहानैदेखि उल्लेख्य भिड लागेको छ ।
धार्मिक मान्यताअनुसार महादेवले ब्रह्मा र विष्णुलाई क्रमशः सृष्टिको सिर्जना र पालनको भिन्न–भिन्न जिम्मेवारी दिएका थिए । सृष्टिको सिर्जना गर्ने आफ्नो कार्यभार सम्पन्न गर्न ब्रह्माले आफ्ना वंशज देवशिल्पी विश्वकर्मालाई आदेश दिएका थिए ।
विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर तथा वास्तुकार मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको पौराणिक कथन छ । उनका अनुपम कृतिहरूमध्ये सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति निर्माण प्रमुख मानिन्छन् । कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियारसमेत उनैले निर्माण गरेको धार्मिक विश्वास छ । भगवान् विश्वकर्माको महिमा ऋग्वेदका ११ वटा ऋचामा समेत वर्णन गरिएको छ ।
जसको सम्पूर्ण सृष्टि र कर्म सिर्जनासँग जोडिएको छ, ती सबैको मूल नै विश्वकर्मा हुन् । मानव जीवन सञ्चालन गर्ने प्रत्येक सिर्जनात्मक कर्म विश्वकर्मासँग जोडिने भएकाले उनको आराधना गर्दा प्राकृतिक ऊर्जा प्राप्त हुने र कार्यक्षेत्रमा आइपर्ने सम्पूर्ण बाधा–अड्चनहरू हट्ने विश्वास गरिन्छ । उनको पूजा गर्नाले व्यक्तिमा सीप, दक्षता र विद्वताको गुण विकास हुने धार्मिक मान्यता छ ।
द्वापरयुगमा राक्षसहरूले भगवान् कृष्णलाई दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा एकै रातमा ‘भेद द्वारका’ निर्माण गरी लुकाएको कथा पाइन्छ । प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवता मानिन्छ । उनले बनाएको ‘भेद द्वारका’ हाल भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा अवस्थित रहेको विश्वास गरिन्छ ।
पौराणिक कथाअनुसार प्राचीन समयमा वाराणसीमा धार्मिक आचरण भएका एक कुशल रथकार दम्पती बस्थे । अत्यधिक परिश्रम गरे पनि खान पुग्नेबाहेक कुनै सम्पत्ति जोड्न नसकेका र सन्तानविहीन ती दम्पती चिन्तित थिए । छिमेकी ब्राह्मणको सल्लाहबमोजिम उनीहरूले औँसी तिथिमा भगवान् विश्वकर्माको निष्ठापूर्वक पूजा–आराधना गरेपछि धन–धान्य र पुत्ररत्न प्राप्त गरी सुखी जीवन बिताउन पाएका थिए ।
यसै विश्वासका आधारमा कार्यक्षेत्रमा सफलता, कार्यकुशलता र समृद्धि प्राप्तिका लागि आजका दिन श्रद्धापूर्वक विश्वकर्माको पूजा गरिन्छ ।