काठमाडौं । २०७३ साल असोज ३ गते संविधान दिवसको ऐतिहासिक सन्दर्भ पारेर सुरु भएको नेपाली रेडियो नेटवर्क आजदेखि आफ्नो गौरवमय यात्राको दशौँ वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ। रेडियो नेटवर्क विस्तार भई हाल काठमाडौँको रेडियो एनआरएन ९९।१, नेपाली नेटवर्क अनलाइन पोर्टल, फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क अनलाइन टिभीदेखि देशैभरका २०० भन्दा बढी सहयात्री रेडियोहरूको बलियो सञ्जाल रहेको छ।
हाम्रो प्रसारण दैनिक ५० लाखभन्दा बढी श्रोतामाझ पुग्ने गरेको विभिन्न अध्ययन अनुसन्धानहरूले देखाएका छन्।
एक दशकको यो यात्रा नेपाली समाजमा सूचनाको हक स्थापित गर्ने, जनताको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने र सही सूचनामार्फत नागरिकलाई सुसूचित गराउने अविराम साधना थियो।
बिहान ५स्३० बजेदेखि राति ८स्३० बजेसम्म हरेक घण्टा निरन्तर निष्पक्ष र सन्तुलित समाचारमूलक प्रस्तुति नेपाली खबर प्रसारण हुँदै आएको छ।
बिहानको ‘नेपाली बहस’ र ‘पालिका बहस’देखि साँझको ‘जनता जान्न चाहन्छन्’सम्मका कार्यक्रमहरूले शक्तिलाई प्रश्न सोध्ने र नागरिकलाई उत्तर दिने दायित्व निरन्तर पूरा गर्दै आएका छन्। सूचनाको बाढी र भ्रामक प्रचारको युगमा सत्य, सन्तुलन र विश्वसनीयताको मर्मबाट कहिल्यै विचलित नहुने हाम्रो अठोट नै विगत १० वर्षमा हामीलाई प्राप्त भएको सबैभन्दा ठूलो पुँजी हो।
विगतका वर्षहरूमा हामीले समाजमा ुआशा जगाउनेु र नीतिगत पैरवी गर्ने पत्रकारितालाई प्राथमिकता दियौँ। स्थापनाकालदेखि हामीले हरेक दिन पहिलो समाचारको रूपमा शुभ समाचार प्रसारण गरेर देशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक ऊर्जा सञ्चार गर्यौँ। तर, बदलिँदो जलवायु सङ्कट, बढ्दो प्राकृतिक विपत्ति र त्यसले आम नागरिकको जीवनमा पारिरहेको गम्भीर असरलाई आत्मसात् गर्दै नेपाली रेडियो नेटवर्कले आफ्नो दशौँ वार्षिकोत्सवका अवसरमा आगामी वर्षलाई ‘विपद् विरुद्धको पत्रकारितामा केन्द्रित गर्ने सङ्कल्प गरेको छ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक हो। बाढी, पहिरो, भूकम्प, शीतलहर वा आगलागी जस्ता विपत्तिहरू आकस्मिक घटना मात्र होइनन्, यिनले गरिबी, विस्थापन र जनधनको अपूरणीय क्षति निम्त्याउँछन्। यस्तो अवस्थामा सञ्चारमाध्यमको भूमिका घटना घटिसकेपछिको क्षतिको विवरण सुनाउनेमा सीमित हुन सक्दैन। पूर्वसूचना प्रणालीको प्रभावकारिता, स्थानीय तहको पूर्वतयारी, विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहतको निष्पक्ष वितरण र पुनर्निर्माणको जवाफदेहिता सुनिश्चित गर्न अब रेडियो नेटवर्कले खोजमूलक र जनकेन्द्रित भूमिका खेल्नेछ। विपद्को समयमा सबैभन्दा भरपर्दो, द्रुत र जीवनरक्षक माध्यम रेडियो नै हो भन्ने यथार्थलाई व्यवहारमै चरितार्थ गर्दै हामी नागरिकको जीवन रक्षाका लागि पहरेदार बन्नेछौँ।
एक दशकको यो गौरवमय यात्रालाई सफल बनाउन अहोरात्र खट्नुहुने हाम्रा सम्पूर्ण सहकर्मी, देशभरका सहयात्री रेडियो, विज्ञापनदाता, शुभेच्छुक तथा मुटुको धड्कन बनेर सुनिदिनुहुने सम्पूर्ण आदरणीय श्रोतावर्गप्रति नेपाली रेडियो नेटवर्क हार्दिक आभार व्यक्त गर्दछ।
आवाजविहीनहरूको आवाज बन्ने, सत्यको पक्षमा अडिग रहने र विपद्का घडीमा मार्गदर्शक बन्ने हाम्रो यो यात्रामा यहाँहरूको साथ, विश्वास र सुझाव अझ प्रगाढ रहने पूर्ण विश्वास लिएका छौँ।