काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक बनेको छ। सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’का रूपमा विराट एक्स्पोसँग जोडिएका छन्। उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पोको नवौँ संस्करण आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा सञ्चालन हुनेछ।
करिब तीन दशकदेखि आयोजना हुँदै आएको विराट एक्स्पो पूर्वी नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीका रूपमा स्थापित छ। यस वर्षको एक्स्पोलाई परम्परागत प्रदर्शनीभन्दा फराकिलो बनाउँदै व्यापार विस्तार, उद्यमशीलता, लगानी, रोजगारी, प्रविधि, सिकाइ तथा मनोरञ्जनसँग जोडिने आयोजकले जनाएको छ। एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहनेछ। आयोजकले २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच थप विस्तार हुने बताउनुभयो। उहाँले एक्स्पो उत्पादन तथा सेवाको प्रदर्शनसँगै उद्योग, व्यापार, उद्यमशीलता र लगानीका अवसर जोड्ने साझा मञ्च भएको उल्लेख गर्नुभयो।
विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंकको सहभागिताले एक्स्पोमा थप आकर्षण बढ्ने बताउनुभयो।त्यस्तै, एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताउँदै एक्स्पोका विभिन्न गतिविधिमा प्रभावकारी सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजकका अनुसार विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ।