रोग नियन्त्रण केन्द्र (सिडिसी)ले गत वर्ष अमेरिकामा दुईवटा घरपालुवा जनावरमा कोरोना भाइरस (कोभिड–१९) देखिएको पुष्टि गरेको थियो । दुईवटा बिरालोमा श्वास–प्रश्वासको समस्या देखिएपछि चेकजाँच गर्दा कोरोना संक्रमण भएको पाइएको हो । योसँगै न्युयोर्कको एक चिडियाखानामा रहेको बाघमा पनि कोभिड–१९ को संक्रमण भएको पाइयो । यद्यपि, अझै पनि विशेषज्ञहरूले घरपालुवा जनावरमा कोरोना संक्रमण धेरै नफैलिएको जनाउँदै थप अनुसन्धान भइरहेको बताएका छन् । उनीहरूले सर्वसाधारणलाई धेरै नआत्तिन सुझाब दिइरहेका छन् । अहिलेसम्म घरपालुवा जनावरबाट मानिसमा संक्रमण फैलिएको कुनै प्रमाण फेला नपरेको उनीहरूले स्पष्ट पारेका छन् ।
-अमेरिकन भेटेनरी मेडिकल एसोसिएसनले विश्वभरिमा हालसम्म जम्मा दुई–दुईवटा बिराला र कुकुरमा मात्र कोरोना संक्रमण देखिएको जानकारी दिँदै घरपालुवा जनावरमा यो भाइरसको जोखिम कम रहेको पुष्टि भएको बताएको छ । गत वर्षको फेब्रुअरीको मध्यतिर हङकङमा एउटा कुकुरमा कोरोना देखिएको थियो । यो नै घरपालुवा जनावरमा देखिएको पहिलो संक्रमण हो । कोरोना संक्रमण घरपालुवा जनावरमा मानिसबाट सरेको हुन सक्ने अनुमान गरिएको वल्र्ड केस अर्गनाइजेसन फर एनिमल हेल्थले जनाएको छ ।
के घरपालुवा जनावरबाट मानिसमा सर्न त ?
-अहिलेसम्मको अध्ययनअनुसार, घरपालुवा जनावरबाट मानिसमा कोरोना भाइरस सरेको कुनै तथ्य भेटिएको छैन । वल्र्ड अर्गनाइजेसन फर एनिमल हेल्थले घरमा पालिएका जनावरबाट कुनै जोखिम नरहेको तथ्य सार्वजनिक गरेको छ । संक्रमितले खोक्दा, हाच्छ्युँ गर्दा वा सास फेर्दा हावामा मिसिएको भाइरसबाट जनावरमा कोभिड–१९ सरेको अनुमान गरिएको छ ।
-यद्यपि, घरपालुवा जनावरमा संक्रमणको लक्षण मानिसमा जस्तै देखिन्छ भन्ने कुनै प्रमाण छैन । जनावरमा फरक खालको लक्षण देखिने वा नदेखिने पनि हुन सक्छ । चिडियाखानामा रहेको बाघमा श्वास–प्रश्वासको समस्या देखिएपछि चेकजाँच गर्दा कोरोना पोजिटिभ रहेको पत्ता लागेको थियो । तर, जनावरमा कस्ता लक्षण देखिन्छन् भन्ने विषयमा अनुसन्धानकर्ता अझै अनविज्ञ छन् । रोग नियन्त्रण केन्द्र र वल्र्ड अर्गनाइजेसन फर एनिमल हेल्थले कोरोना संक्रमितले अन्य मानिसजस्तै जनावरसँग पनि अनिवार्य रूपमा सामाजिक दूरी कायम राख्नुपर्ने सिफारिस गरेका छन् । त्यस्तै, संक्रमणको महामारी फैलिएका क्षेत्रमा मानिससँगै घरपालुवा जनावरको हेरचाहमा पनि उच्च सतर्कता अपनाउन भनिएको छ ।
-अध्ययनको क्रममा रहेकाले जनावरबाट मानिसमा भाइरस सर्न सक्ने विषयमा वैज्ञानिकहरू अझै निश्चित भइसकेका छैनन् । तर, सन् २००३ मा देखिएको सार्स कोभिड २ भाइरस जनावरहरूमा देखिएको थियो । कोभिड–१९ को प्रकृति पनि सार्ससँग मिल्दोजुल्दो भएकाले जनावरबाट मानिसमा सर्न सक्ने सम्भावना रहन सक्छ भन्ने अनुमान छ, तर यसबारे कुनै तथ्य बाहिर आएको छैन ।
के जनावरको रौँमा जीवित रहन्छ ?
-विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार, कोभिड–१९ भाइरस हावामा र अन्य वस्तुमा तिनीहरूको प्रकृतिअनुसार केही घन्टा वा दिन जीवित रहन सक्छ । त्यसैगरी, जनावरको भुवा वा रौँमा पनि भाइरस लामो समयसम्म जीवित रहन सक्छ भनिएको छ । यद्यपि, यसबारे थप अनुसन्धान भइरहेको छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनअनुसार, सार्स कोभिड करिब प्लास्टिकमा ७२ घन्टा, स्टिलमा ४८ घन्टा, काठमा २४ घन्टा र तामामा चार घन्टासम्म जीवित रहन्छ । तर, जनावरको शरीरबाहिर भाइरस यति नै समयसम्म बाँच्न सक्छ भन्ने कुनै प्रमाण वा आधार छैन । हावामा र अन्य वस्तुमा भाइरस रहने हुँदा घरपालुवा जनावरलाई छोएपछि राम्ररी हातमुख सफा गर्न आवश्यक हुन्छ ।
(एजेन्सीको सहयोगमा)