काठमाडौं । पृथ्वीनारायण शाह तत्कालिन नेपालभित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौशल्यावतीका छोरा थिए । उनले जन्म विसं १७७९ पौष २७ गते बिहीबार गोरखा दरबारमा भएको थियो । उनले स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको निर्माण काम गरे । त्यसैले उनलाई आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पनि चिनिन्छ ।

इतिहासकारहरुका अनुसार पृथ्वीनारायण बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए।
यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो । गोरखा र मकवानपुरबीच ओहोर–दोहोर गर्नु पर्दा उपत्यकाको भ–ूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले । त्यसबखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत पनि थिएन । त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिए ।
१७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिएका थिए । त्यसको कदरस्वरूप रणजितले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाइ दरबारमा स–सम्मान लामो अवधिसम्म राखेका थिए । गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाइ काठमाडौँका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याइ मितेरी लगाएका थिए ।
पृथ्वीनारायणले स–साना क्षेत्र जस्तै भिरकोट, कास्की र लमजुङ्ग गोरखामा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायणले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू–भाग नेपाल अधिनस्थ थियो ।
(गोरखा दरबार)
पृथ्वीनारायणले १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाहलगायतले अगाडि बढाइ रहे । नेपाल एकीकरण अभियानको पूर्णविराम भने उनका पनाती राजा गीर्वाणयुद्ध विक्रम शाहका पालामा भएको नेपाल–अङ्ग्रेज (१८१४–१६) पछि भयो । १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो ।
पृथ्वीनारायण आफ्नो अन्तिम जीवनकालमा दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आज पनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ ।

‘बूढाहरू मर्दा कोही अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुरा घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन्’, पृथ्वीनारायणले आफ्नो अन्तिम समयतिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कने गरेको इतिहासकारहरु बताउँछन् ।