काठमाडौं । शिक्षा आर्जन किन गर्ने भन्ने विषयमा हरेक व्यक्तिका आआफ्ना धारणा हुन सक्लान् । ती मध्ये प्रमुख कारण हो शिक्षित बनेर जागिर खाने, प्रतिष्ठा कमाउने । नेपालको हकमा धेरैजसो मानिसहरुको चाहाना शिक्षित बनेर आकर्षक जागिर खाने, कमाउने र परिवार पाल्ने नै हो ।
मानव जीवनमा शिक्षाको निकै महत्व छ, त्यैभएर शिक्षा पनि जीवनमैत्री हुनुपर्ने आवाज उठ्दै आएको छ र हालसम्म आउँदा धेरै परिवर्तन पनि भइसकेको छ । शिक्षामा आमूल परिवर्तन गर्ने, बुर्जुवा शिक्षा खारेज गर्ने, व्यवस्था परिवर्तन गर्ने लगायतका एजेण्डा बोकेर दशवर्षे सशस्त्रद्वन्द्वमा होमिएको माओवादीले व्यवस्था परिवर्तनमा त सहयोग गर्यो तर शिक्षा उहीँ र उस्तै छ ।
तर, शिक्षामा परिवर्तन ल्याउन र विद्यार्थीहरुको आर्थिकोपार्जनका लागि केही विद्यालयले भने नमूनायोग्य काम गर्दै आएका छन् । सुर्खेतको जनज्योति माध्यमिक विद्यालयले शुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम यतिबेला देशव्यापी बन्दै गएको छ । विद्यालयका प्रधानाध्यापक नारायण सिग्देलले शुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम यतिबेला बजेटमा समावेश भएको छ । बजेटमा कार्यक्रम समेटिदाको खुसी एकातिर र बजेट नआउँदाको दुःख अर्कोतिर रहेको सिग्देलको भनाइ छ ।
सिग्देलको विद्यालयमा कार्यान्वयन भइसकेको ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट प्रभावित भएर सरकारले यसलाई देशभरी बिस्तार गरिरहेको छ । नेपालको शिक्षा प्रणाली र शिक्षण सिकाइलाई कसरी गुणस्तरीय बनाउने भनेर योजना बनाउन लागि परेका थिए, सिग्देल ।
देशको समग्र विकासको लागि शिक्षा प्रणाली नै सुधार्नुपर्छ भन्ने लागेपछि उहाँ शिक्षण सिकाइको पद्धति फेर्न तम्सिनुभयो । प्रचलित घोकन्ते शिक्षाको विकल्प खोज्नुभयो । ९ वर्षअघि जनज्योति माविबाट शुरु भएको थियो पढ्दै कमाउँदै कार्यक्रम । शुरुमा संघर्ष भएपनि उत्पादन सफल भएसँगै सिग्देललाई हौसला बढेको छ ।
कार्यक्रमको सुरुवाती चरणमा जनज्योति विद्यालयले जनज्योति व्यावसायिक क्लब गठन गरेको थियो । क्लबमा आबद्ध गराउँदै विद्यार्थीलाई चकटी बुन्ने, नाम्लो बुन्ने, कुचो बुन्नेजस्ता काम सिकाउन थालिएको थियो । अहिले त्यहाँ अध्ययन गरेका विद्यार्थी सरकारी जागिरेदेखि उद्यमी बन्न सफल भएका छन् ।
पढ्दै कमाउँदै कार्यक्रम मार्फत जनज्योति विद्यालय करिब ३२ लाख रुपैयाँको कोष बनाउन सफल भएको छ । यता, शिक्षामन्त्री देवेन्द्र पौडेलले अधिकांश विद्यालयमा सरकारले छुट्याएको बजेट पुगिसकेको र नपुगेको विद्यालयमा फास्ट ट्रयाकमार्फत काम गरिने बताउनुभयो ।
पढ्दै कमाउँदै कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेर निरन्तरता दिन सके बेरोजगार उत्पादन गर्ने कारखाना कहलिएका विद्यालयको साख थप उच्च हुने थियो की ।