काठमाडौँ – पाँच दलीय गठबन्धनलाई लिएर प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा दोहोरी चलेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवा र इतर समूहका नेता डा. शेखर कोइरालाबीच भनाभन भएको हो ।
पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा पनि लैजान देउवा दृढ रहेको अवस्थामा इतर समूहले विरोध गरिरहेको छ ।
इतर समूहको नेतृत्व गरिरहनुभएका केन्द्रीय सदस्य शेखर कोइरालाले निर्वाचनमा माओवादीसहितको गठबन्धनको औचित्यमाथि प्रश्न उठाएपछि सभापति देउवाले गठबन्धनबिना चुनाव जित्न सकिने अवस्था नरहेको बताउनुभएको बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।
इतर समूहले पार्टीको आन्तरिक एकता मात्रै बलियो पार्ने हो भने पनि निर्वाचन जित्न कठिन नहुने बताइरहेको छ । तर, सभापति देउवाले अन्तर्घात रोक्न नसकिएको नमीठो विगत भएकोले अहिले पनि त्यो रोग निको भइनसकेको जवाफ दिनुभयो ।
यसैबीच गठबन्धनबारे कांग्रेसले औपचारिक निर्णय भोलि बस्ने केन्द्रीय समिति बैठकबाट लिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको र अधिकांशले गठबन्धनका पक्षमा मत जाहेर गनुभएको उहाँले बताउनुभयो । केही नेताहरुले भने गठबन्धन गर्न नहुनेमा पनि धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो ।
कांग्रेसमा शेखर समूहले गठबन्धनको विरोध गरे पनि अधिकांश नेताहरु माओवादी र नेकपा एससँग चुनावी तालमेलको पक्षमा ढल्केका छन् । सभापति देउवाको दृढ अडानका कारण पनि कांग्रेस गठबन्धनको पक्षमा ढल्केको कतिपयको विश्लेषण छ ।
राजनीतिक विश्लेषक लोकराज बरालले कम्युनिष्ट एकता हुन नदिने देउवाले गणित बुझेरै गठबन्धनको पक्षमा उभिने निर्णय लिएको बताउनुभयो ।
बरालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन कायम हुने सम्भावना बलियो रहे पनि संघ र प्रदेशको चुनावमा कांग्रेसले एक्लै भिड्ने निर्णय लिन सक्ने अनुमान गर्नुभयो ।
संघको निर्वाचनकको अन्तिम समयमा देउवाले एक्लै चुनाव लड्ने निर्णय लिन सक्ने उहाँले बताउनुभयो । अब कम्युनिष्ट मिल्न सक्ने सम्भावना र अवस्था छैन भन्ने बुझेर मात्रै देउवाले एक्लै चुनावमा जाने निर्णय लिने बरालको बुझाइ छ ।
प्रमुख प्रतिस्पर्धी कांग्रेस गठबन्धनको पक्षमा ढल्केपछि विपक्षी एमालेले भने कटाक्ष गरेको छ । एमाले अध्यक्ष केपी ओलीले जमानाको बलियोे साँढेले अहिले वैशाखीको सहारा खोजेको भन्दै कांग्रेसप्रति कटाक्ष गर्नुभएको छ ।