काठमाण्डौ । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो । आज बिहान सकिएको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।पार्टी सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि हिजो भएको चुनावमा ९६।२ प्रतिशत मत खसेको छ । विभिन्न २ सय ३१ पदका लागि ८ सय ११ जनाले उम्मेदवारी दिएका छन् । यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भुसाल र काठमाण्डौ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्य निर्विरोध भएका छन् । अन्य पदाधिकारीहरुको मत गणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीहरुको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ । उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना सुरु गर्नेछ । कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीको मतगणना सुरु हुनेछ।
१५औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भएको थियो । लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणनामा सभापतिमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिष्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाप्त गरेका छन। जसमा कुल ५४ मत बदर भएको थियो । यसपटक कांग्रेसका ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका छन् ।