धनगढीबाट मंसिर ६ गते बिहान ५ बजे बस छुट्ने, नागरिकता वा बसाइँसराइको प्रमाण देखाउन नपर्ने
काठमाडौ । डोटीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीकेदार धाममा लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनको सहजताका लागि पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नै खर्चमा सातवटा निःशुल्क बसको व्यवस्था गरेका छन्। मंसिर ६ गतेदेखि सुरु हुने मेलामा सहभागी हुन चाहने भक्तजनलाई लक्षित गरी धनगढीका विभिन्न स्थानबाट बिहान ५ बजे बस छुट्नेछन्। पूर्वमन्त्री आले आफैँ पनि भक्तजनसँगै बसमा बडीकेदार धाम जाने भएका छन्।
आलेको व्यवस्थाअनुसार धनगढीको फूलबारी डीपीओ बजार, शहीद गेट, क्याम्पस चोक, बसपार्क र राजपुर चोकबाट एक–एक तथा हसनपुर पीपल चौताराबाट दुईवटा बस छुट्नेछन्। मंसिर ७ गते साँझ ४ बजे बडीकेदार धाम पार्किङ स्थल र अतरकाँडा बजारबाट भक्तजनलाई धनगढी फर्काउने व्यवस्था पनि मिलाइएको छ।यस सेवाको विशेष पक्ष भनेको बडीकेदार दर्शन गर्न चाहने सबै श्रद्धालुले कुनै भेदभावबिना निःशुल्क यातायात सुविधा लिन पाउनु हो। सेवा लिनका लागि नागरिकता, बसाइँसराइ वा कुनै प्रकारको बसोबाससम्बन्धी प्रमाण देखाउनुपर्ने छैन। सुदूरपश्चिमका जुनसुकै जिल्ला तथा अन्य क्षेत्रबाट आएका श्रद्धालुले समेत यो सेवा उपयोग गर्न सक्नेछन्।धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित बडीकेदार धाममा हरेक वर्ष बैकुण्ठ चतुर्दशी र महाशिवरात्रिका अवसरमा ठूलो मेला लाग्ने गर्छ। विशेषगरी बैकुण्ठ चतुर्दशीमा डोटी, कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतको उत्तर प्रदेशबाट हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्।

बडीकेदार क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष उपेन्द्र बमका अनुसार धामप्रति श्रद्धालुहरूको गहिरो धार्मिक विश्वास छ। यहाँ दर्शन गरेपछि मनोकामना पूरा हुने विश्वासका साथ भक्तजन आउने गरेका छन्। यस वर्षको मेलामा दुई लाखभन्दा बढी भक्तजन पुग्ने अनुमान गरिएको छ।
थारू समुदायको विशेष आस्था
बडीकेदार धामको अर्को विशेषता पश्चिम तराईका थारू समुदायसँग जोडिएको धार्मिक आस्था हो। कैलाली र कञ्चनपुरका थारू समुदायका श्रद्धालुहरू बैकुण्ठ चतुर्दशीका अवसरमा विशेष श्रद्धाका साथ धाम पुग्ने गर्छन्। कतिपय भक्तजन दुईदेखि चार दिनसम्म खाली खुट्टा पैदल यात्रा गरेरसमेत दर्शनका लागि आउने गरेको स्थानीय बताउँछन्। सन्तान प्राप्ति, पारिवारिक सुख र मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ आउने श्रद्धालुको संख्या हरेक वर्ष बढ्दै गएको छ।
धार्मिक आस्थासँगै पर्यटकीय आकर्षण
समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा रहेको बडीकेदार धाम डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको सीमाक्षेत्रमा अवस्थित छ। लेकाली जंगलको बीचमा रहेको शिलालाई भगवान् शिवका रूपमा पूजा गरिन्छ। यहाँबाट तराईको समथर भूभाग, भारतको उत्तर प्रदेश तथा डोटी, अछाम र सुर्खेतका पहाडी क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
स्थानीय किंवदन्तीअनुसार परापूर्वकालमा एउटा गाईले जंगलको बीचमा रहेको शिलामा दूध चढाउने गरेको र त्यसपछि उक्त शिलामा पूजाआजा सुरु भएको धार्मिक मान्यता छ।
बडीकेदारलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक, पदमार्ग, सिँढी तथा अन्य पूर्वाधार निर्माणका कामसमेत हुँदै आएका छन्। सहजपुर–अत्तरकाँडा सडक कालोपत्रे भएपछि धामसम्म पुग्न विगतको तुलनामा सहज भएको स्थानीयको भनाइ छ।

सेवाभावको चर्चा
धार्मिक आस्थाको केन्द्र बडीकेदारमा लाग्ने मेलामा भक्तजनलाई यातायातको सहज सुविधा उपलब्ध गराउन पूर्वमन्त्री आलेले आफ्नै खर्चमा सातवटा बस परिचालन गर्नुले उनको पहलको चर्चा बढाएको छ। विशेषगरी कुनै जिल्ला वा क्षेत्रको नागरिकता तथा बसाइँसराइको प्रमाण नखोजी सबै श्रद्धालुलाई समान रूपमा सेवा उपलब्ध गराउने व्यवस्थालाई सकारात्मक रूपमा हेरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन, श्रद्धालुको सहजता र सामाजिक सेवाको भावनासँग जोडिएको यो पहलले बडीकेदार मेलामा भक्तजनको सहभागिता थप सहज बनाउने अपेक्षा गरिएको छ।