काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल वा विपक्षी दलहरू कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।
आगामी चुनावमा पनि गठबन्धन गर्नुपर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको प्रस्तावप्रति कांग्रेस नेताहरूले आगो ओकल्न थालेपछि सभापति देउवाले गठबन्धन विरोधी अभिव्यक्ति नदिन निर्देशन दिनुभएको हो ।
स्थानीय निर्वाचन लक्षित पार्टीको एकमहिने अभियानबारे केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रशीक्षण गर्न सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देउवाले पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न निर्देशन दिनुभएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।
महरका अनुसार देउवाले गठबन्धन दलहरूबीचमा शंका उत्पन्न हुने गरी कुनै पनि गतिविधि नगर्न निर्देशन दिनुभएको थियो ।
सत्ता साझेदार माओवादी र नेकपा एस गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने प्रयास गरिरहेका छन् । तर सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नेताहरू यसको विपक्षमा छन् ।
हालै एक सार्वजनिक कार्यक्रममा उपसभापति धनराज गुरुङले चुनावमा कांग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै कांग्रेसरुपी हात्तीको ठूलो कान देखेर केही चमेराहरू ओत लाग्न खोजिरहेको टिप्पणी गर्नुभएको थियो ।
माओवादी र नेकपा एसलाई कटाक्ष गर्दै गुरुङले कांग्रेसरुपी हात्तीको कानमा ओत लाग्न खोज्ने चमेराहरूबाट कांग्रेसलाई केही फाइदा नहुने कठोर टिप्पणी गर्नुभएको थियो ।
तर जति आलोचना भए पनि आगामी चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गर्न माओवादी र नेकपा एस तयार देखिएका छैनन् । उनीहरूलाई कांग्रेसको वैशाखी चाहिएको भन्दै प्रमुख विपक्षी एमालेले पनि कटाक्ष गरिरहेको छ ।
माओवादी नेता दिनानाथ शर्मा भने गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने प्रयत्न गरिएको भए पनि मरिहत्ते नगरेको बताउनुहुन्छ । आफूहरूले जनताको मुक्तिको लागि ज्यानको बाजी थापेर युद्ध गरेको स्मरण गर्दै उहाँले पदका लागि ज्यान नदिइने जिकिर गर्नुभयो ।
७४ सालमा भएको आम निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच गठबन्धन भएको थियो । कम्युनिष्टहरू मिलेर चुनावमा गएपछि आफूले पराजय भोगेको कांग्रेस बताउँछ ।
उतिबेला जनताबाट प्राप्त बहुमत जोगाउन नसक्दा कम्युनिष्टहरू अहिले छिन्नभिन्न भएका छन् । एमसीसी प्रकरणमा सरकारको विरोधमा कार्यकर्ता उचालेको ताजा दृष्टान्तले माओवादी र नेकपा एसले जुनसुकै बेला धोका दिनसक्ने भन्दै कांग्रेसभित्र गठबन्धन विरोधी मत बलियो बन्दै गएको छ । तर सभापति देउवाले भने गठबन्धनलाई बाधा पुग्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिनुभएको हो ।