भारतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालविरुद्ध लेखेको ट्विट हटाएका छन् । आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै नेपालबारे लेखेको ट्वीट हटाएका उनले जानकारी दिएका छन् ।
नेपालमा यहाँका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय टिभी च्यानलको प्रशारण बन्द गरेपछि पत्रकार चौधरीले नेपालबारे विवादित ट्वीट लेखेका थिए ।
‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन’, चौधरीले लखेका थिए ।
सुधीरको यस्तो टिप्पणीप्रति धेरैले आपत्ति जनाउँदै विरोध गरेपछि उनले आफ्नो ट्वीट हटाएका हुन् ।
उनले आफ्नो ट्वीटले नेपाली दर्शकहरुलाई चोट पुर्याएको र धेरै साथीले उक्त विचार सही नभएको सुझाव दिएपछि दुख व्यक्त गर्दै ट्वीट हटाएको जानकारी अर्काे ट्विट मार्फत दिएका छन् ।
यसअघि जी न्युजले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे बनावटी र जथाभावी रिपोर्ट प्रसारण गरेको थियो
तर यसका प्रधान सम्पादक चौधरीले यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।