Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारत–पाकिस्तानबीचको द्वन्द्वले नेपालमा पर्ने सम्भावित चुनौतीबारे सर्वत्र चासो र चिन्ता, नेपाल सरकार समयमै गम्भीर बन्न सुझाव (खास खबर)

भारत–पाकिस्तानबीचको द्वन्द्वले नेपालमा पर्ने सम्भावित चुनौतीबारे सर्वत्र चासो र चिन्ता, नेपाल सरकार समयमै गम्भीर बन्न सुझाव (खास खबर)

  • बुधवार, बैशाख २४ २०८२

  • 1.7K
    SHARES

  • भारत–पाकिस्तानबीचको द्वन्द्वले नेपालमा पर्ने सम्भावित चुनौतीबारे सर्वत्र चासो र चिन्ता, नेपाल सरकार समयमै गम्भीर बन्न सुझाव (खास खबर)

    काठमाडौं । मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव थप चर्किएको छ । गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणपछि दुई देशबीच द्वन्द्व झन् चर्किएको हो । उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।

    भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गयराति गरेको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो ।

    पहलगाममा भएको उग्रवादी हमलाको जवाफमा गयराति भारतले पाकिस्तानमा आक्रमण गरेपछि त्यसबाट नेपालमा पर्ने सम्भावित असरहरूबारे चासो र चिन्ता सहित वहस सुरु भएको छ । यद्यपी गयरातिको घटनावारे नेपाल सरकारले मुख खोलिसकेको छैन ।

    भारत र पाकिस्तानबीच चलेको द्वन्द्वबारे नेपालको संसदमा वहस र चिन्ता सुरु भएको छ । दुई देशबीचको द्वन्द्वबारे सरकारलाई सांसदहरूले ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँनुहुन्छ । तर, आतंकवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको उहाँको भनाई छ ।

    केही दिन पहिले पाकिस्तानी सेना नेपाल आएको विषय पनि आजको संसदमा उठेको छ । स्वतन्त्र सांसद अमरेश सिंहले भारत पाकिस्तान तनावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सिंहले उक्त तनावसँगै नेपाल–भारत सीमानामा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न नेपालले नजिकबाट नियाल्नु पर्ने सुझाव दिनुहुन्छ ।

    सत्तारुढ दल नेपाली कांग्रेसले भारत–पाकिस्तान युद्धले पार्ने अल्पकालिन र दीर्घकालिन प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएको छ । कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तानबीचको द्वन्द्वले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताउनुहुन्छ । ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन तनाव सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालिन र दीर्घकालिन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस्’ सांसद गौतमले भन्नुभएको छ ।

    यता, पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका एनपी साउद भारत–पाकिस्तानबीचको द्वन्द्वको विषयमा सरकार गम्भीर हुनपर्ने भन्दै हालै पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषय समेत उचित नरहेको तर्क गर्नुहुन्छ ।

    ‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो’, पूर्वपरराष्ट्रमन्त्री साउदको भनाई छ । २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तान आमुनेसामुने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तानलाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको हो ।

    आजै केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो । बैठकमा तनाबपछि नेपालमा पर्न सक्ने प्रभावबारे पनि विश्लेषण गरिएको छ । बढ्दो भारत–पाकिस्तान तनावबीच अमेरिकासहितका मुलुकहरुले परिस्थिति थप विग्रिनसक्नेमा चिन्ता व्यक्त गरिरहेका छन् ।

    तर, भारत सरकारको जबाफी कारबाहीबारे नेपाल सरकारले भने आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन । दुई देशको द्वन्द्वले पार्नसक्ने प्रभावबारे भने चिन्ता र चासो संगै नेपाल गम्भीर हुनुपर्ने आवाज उठिसकेको छ ।

     


    बुधवार, बैशाख २४ २०८२०७:४१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij