काठमाडौं। भारत र पाकिस्तानबिच उत्पन्न द्वन्दले नेपालमा पनि प्रभाव पार्न सक्ने जोखिम बढेको छ। पाकिस्तानले गत २२ अप्रिलमा कश्मिरमा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी गरेको आक्रमणपछि उत्पन्न तनाव गत मंगलबार राति भारतले जवाफी आक्रमण गरेपछी थप चर्किँदै गएको छ।
जसको प्रभावले नेपालमा पनि असर गर्ने जोखिम बढेको भन्दै विभिन्न कोणबाट चासो र चिन्ता मात्रै बढेको छैन सामाजिक सञ्जालसँगै सडकदेखी सदनसम्मै चर्को रुपमा आवाज उठेको छ।
मुलतः भारत नेपालको छिमेकी देश भएकोले त्यहाँ धेरै नेपालीहरु पेसा, व्यवसाय, रोजगारी, अध्ययन लगाएतका लागी पुगेका छन् भने तनावग्रस्त क्षेत्र कश्मिरमै तैनाथ भारतिय सेनामध्ये अधिकांश नेपालीहरु नै छन् भने पाकिस्तानमा पनि अध्ययन तथा अन्य कामकाजका लागी हजारौं नेपालीहरु पुगेका छन्।
नेपालका दुई छिमेकी तथा मित्र राष्ट्रबिच उत्पन्न तनाव द्वन्दमै परिणत भएर एकअर्काविरद्ध घातक हवाई हमला र मिसायल आक्रमणसम्मकै रुप लिँदा दूबै देशमा रहेका नेपालीको सुरक्षासँगै देशभित्रकै सुरक्षा चुनौति थपिएको छ। अर्कातिर नेपाल भारतको खुला सिमानाका र नेपाल अधिकांश भारतसँगै निर्भर रहेकोले अन्य हरेक क्षेत्रमा असर पर्ने चिन्ता बढ्दो छ।
जसकारण समयमै सजगता र संयमता अपनाउन आग्रह गर्दै अधिकांश राजनैतिक दल तथा सांसदहरुले सुरुमा पाकिस्तानले नै पहलगाममा आतंकवादी आक्रमण सुरु गरेकोले त्यसको विरुद्धमा र भारतको पक्षमा उभिन सरकारलाई सुझाव दिएका छन्।
जसअनुसार सरकारले पनि पहलगाम आक्रमण तथा आतंकवादविरुद्धका गतिविधीलाई साथ दिने भन्दै भारतको पक्षमा उभिने निर्णय लिएको छ। यता संसदमा पनि सांसदहरुले सरकारले लिएको भारतको पक्षमा उभिने निर्णयको स्वागत गर्दै दुबैदेशमा रहेका नेपालीबारे ख्याल गर्न र नेपालमा द्वन्दको प्रभाव पर्न नदिने अवस्थाको सुनिश्चीत गर्न आग्रह गरेका छन्।
प्रतिनिधीसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद विना जयसवालले द्वन्दको प्रभाव नेपालमा पनि पर्नसक्ने भएकोले सिमानाकामा निगरानी बढाउन र अन्तराष्ट्रिय समुदायमा नेपाल सदैव शान्तिको पक्षमा छ, भन्ने सन्देश पुराउन आग्रह गर्नुभयो।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद शिशिर खनालले यी दुबै देशमा रहेका नेपालीको सुरक्षाको ज्ञारेन्टी दिन आग्रह गर्नुभयो। नेपाल छिमेकी मात्रै नभएर सार्क राष्ट्रकै अध्यक्षको हैसियतमा रहेकोले भारत,पाकिस्तान द्वन्दमा गम्भिर बन्नुपर्नेमा जोड दिँदै उहाँले पाकिस्तानबाट ८०जना नेपाली विद्यार्थीले उद्धारको याचना गरेकोले सुरक्षीत स्वदेश फिर्ताको प्रवन्ध गर्न आग्रह गर्नुभयो।
नेकपा एकिकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले पनि नेपाल कुनैपनि प्रकारका आतंकवादको विपक्षमा रहेको बताउँदै यी दुई देशका विचबाट नेपालमा पर्नसक्ने असरबाट जोगिन आवश्यक सावधानी अपनाउन सरकारलाई सुझाव दिनुभयो।
विपक्षीसँगै सत्तारुढ सांसदहरुले यी दुई देशविचको द्वन्दले नेपाल पनि जोखिममा परेको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन्। सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले रुस युक्रेन, इजरायल र हमास युद्ध हुँदै अहिले भारत पाकिस्तानबिच द्वन्द सुरु भएकोले नेपालमा पनि क्रमश जोखिम बढ्दै गएको भन्दै यसतर्फ सचेत बन्न आग्रह गर्नुभयो।
सांसदहरुले भारत र पाकिस्तानविचको द्वन्द्धका विषयमा सदनको ध्यानाकर्षण गरेपछी प्रतिनिधिसभाले पनि दुबै देशमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ।
बैठकको आकस्मिक समयमा सांसदहरुले ध्यानाकर्षण गरेपछी सभामुख देवराज घिमिरेले भारत पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने नेपालीको सुरक्षालगायतमा पर्नसक्ने सम्भावित समस्याप्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
सदनसँगै अधिकांश दलहरुले पनि पाकिस्तानद्वारा पहलगाम आतंकवादी आक्रमणको विरुद्धमा उभिँदै जुनसुकै आतंकवादविरुद्धका गतिविधीमा पनि साथदिने प्रतिबद्धता जनाएका छन्।सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्ताविरुद्ध गरेको आक्रमणलाई जायज ठहर गरेको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज बसेको पार्टी बैठकले कांग्रेस सधैं आतंकवादविरुद्धमा रहने निष्कर्ष निकालेको र भारतले आतंकवादविरुद्धमा गरेको कारबाहीलाई जायज रुपमा लिएको बताउनुभयो।
विगतमा पनि नेपाल कुनैपनि प्रकारका आतंकवादको विरुद्धमा नै उभिँदै आएको छ, यसपटक भारत र पाकिस्तानबिचको द्वन्दमा पनि सोही कदम अगाडी सारेको छ,जुन स्वागत योग्य छ। भारतसँगको खुला सिमा र अधिकांश कुरामा नेपाल भारतमै निर्भर रहेकोले यो द्वन्द लम्बिदै गएको अवस्थामा नेपाल चपेटामा पर्नसक्ने जोखिम उच्च छ।
अर्कातिर दुबै देशमा विभिन्न सिलसिलामा ठुलो संख्यामा नेपालीहरु रहेका छन्। भने भारतका तर्फबाट द्वन्दग्रस्त क्षेत्र कश्मिरमै पनि ठुलो संख्यामा नेपाली युवाहरु भारतिय सैनिकमा आवद्ध छन् ।
तसर्थ नेपाल यो आतंकवादको विपक्षसँगै द्वन्दको पनि विपक्षमा स्पष्ट उत्रिन जरुरी छ भने अर्कातिर खुला सिमाका कारण नेपालमा जुनसुकै प्रयोजनका लागी पनि जस्तासुकै व्यक्तिहरु पनि प्रवेश गरेर नेपालमा थप समस्या उत्पन्न गर्न सक्ने जोखिम रहेकेले सरकार समयमै सजग बन्न जरुरी छ।
पाकिस्तान र भारतमा समस्यामा परेका नेपाली नागरीकलाई सुरक्षीत रुपमा स्वदेश फिर्तीको वातावरण मिलाउन आवश्यक छ।