मानिसलाई कुनै खतरा महसुस भयो भने शरीरले एक किसिमको प्रतिक्रिया देखाउँछ । त्यतिवेला मन आत्तिनुका साथै डर लाग्न सक्छ । यस अवस्थालाई सामान्य मान्न सकिन्छ । तर, सामान्य अवस्थाभन्दा बढी र कुनै प्राकृतिक कारणविना नै डर लाग्छ र त्यसले हाम्रो दैनिक क्रियाकलापलाई असन्तुलित बनाएको छ भने त्यसले डिसअर्डरको रूप लिन सक्छ, जसलाई एन्जाइटी डिसअर्डर भनिन्छ । यी विभिन्न प्रकारका हुन्छन् । जसमा जेनरलाइज्ड, सोसल, सेपरेसन, एगोराफोबिया र प्यानिक डिसअर्डर आदि छन् । यो समस्या कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ ।
लक्षण
एन्जाइटी डिसअर्डर भएमा मुटुको धड्कन बढ्ने, श्वास–प्रश्वास छिटो–छिटो हुने हुन्छ । यस्ता लक्षण देखेर मुटुमा ठूलो समस्या भएको ठानेर धेरै मानिस आत्तिन्छन् । तर, मानसिक रोगको लक्षण हो भनेर थाहा नहुन सक्छ ।
एन्जाइटी डिसअर्डर भएपछि सुरुमा निद्रा नलाग्ने र लागिहाले पनि बीचमा ब्युँझिएपछि फेरि निद्रा लाग्न गाह्रो हुने गर्छ ।
पुराना पीडादायी घटनाको अनुभवले फेरि त्यस्ता घटना दोहोरिएलान् कि भनेर डर लाग्न सक्छ । जसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भनिन्छ ।
त्यस्तै, हातखुट्टा काम्नु, पसिना आउनु, टाउको दुख्नु, छट्पटी हुनु, ग्यास्ट्रिक बढ्नु वा पेटमा असहज अनुभव हुनु । साथै, बेहोस होलाजस्तो हुनु, आत्तिनुका साथै आत्मविश्वास घट्नु, अत्यन्त थाक्नु, कमजोर महसुस हुनु र पटक–पटक पिसाब गर्न मन लाग्नु आदि पनि यी समस्याका लक्षण हुन् ।
कारण
एन्जाइटी डिसअर्डर यही नै कारणले हुन्छ भन्न सकिन्न । तर, जीवनमा घटेका पीडादायी घटनाले भने एन्जाइटीलाई बढाउन ठूलो भूमिका खेल्छ । वंशाणुगत कारणले पनि यो समस्या हुने गरेको पाइएको छ ।
कोरोना भाइरसको महामारीले गर्दा मानिसभित्र अहिले डर पैदा भएको छ । कोरोना आफूलाई पनि लाग्न सक्छ भन्ने सोचले असुरक्षित महसुस गर्ने गर्छन् । यसले गर्दा एन्जाइटी बढ्न सक्छ ।
जागिर गुमाउने चिन्ता, व्यवसाय डुब्ने चिन्ता, भविष्य के हुनेजस्ता चिन्ता र असुरक्षाको भावनाले गर्दा एन्जाइटी बढ्ने गर्छ ।
केही मानिसमा भने शारीरिक रोगका कारणले पनि एन्जाइटी बढ्ने गर्छ । एन्जाइटीको लक्षणलाई कतिपय अवस्थामा चिकित्सकले मेडिकल रोगको पहिलो संकेतका रूपमा लिने गर्छन् । मेडिकल कारणले एन्जाइटी बढेको छ भने चिकित्सकले विभिन्न रोगका लक्षणलाई हेर्ने गर्छन् ।
मुटुरोग, मधुमेह, थाइराइड तथा ध्रूमपान, मद्यपान र लागुपदार्थ सेवनको लतजस्ता कारणले पनि एन्जाइटी हुन्छ । साथै दम, श्वास–प्रश्वाससम्बन्धी समस्यासमेतका कारणले पनि यो रोग हुने गर्छ ।
रोकथाम
सधैँ कोरोनाको कुरा मात्र सोचेर बस्नु हँुदैन । सोसल साइटको अत्यन्त कम प्रयोग गर्नुपर्छ । कोरोनाका समाचारलाई कम सुन्ने, पढ्ने वा हेर्ने गर्नुपर्छ । परिवार, साथीभाइसँग गफ गर्दा कोरोनाको नभएर रमाइला कुरा गर्नुपर्छ ।
सामान्य एन्जाइटी मनोविद्सँगको नियमित परामर्शले निको हुन्छ । मनोविद्ले कग्निटिभ बिहेबियर साइकोथेरापीबाट उपचार गर्छन् । तर, बिरामीलाई असाध्यै कठिन महसुस भएको छ भने मनोचिकित्सकसँगको सल्लाहबाट औषधिसमेत लिनुपर्ने हुन सक्छ । यसलाई सामान्य ठानेर बस्नु हुँदैन । कालान्तरमा यसले गम्भीर समस्यासमेत निम्त्याउन सक्छ ।
दैनिक केही समय योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोचलाई कम गर्नुका साथै प्रतिकूल अवस्था संयम बनाउँछ । शरीरलाई सक्रिय राख्न कसरत गर्नु राम्रो हुन्छ ।
विश्राम र योग निद्राको नियमित अभ्यासले शरीरमा भएको तनावलाई कम गरेर ताजा बनाउँछ ।
साथै, भोजनमा विशेष ख्याल राख्नुपर्छ । सन्तुलित भोजन लिनुपर्छ । रक्सी, चुरोट, सुर्ती तथा लागुपदार्थबाट टाढा रहनुपर्छ । बिहान
मौसमअनुसारको केही फलफूल खानुपर्छ । खानासँगै काँक्रो, गाँजर, मूलाजस्ता काँचा फलपूmल तथा कन्दमूलको सलाद खानु राम्रो हुन्छ ।
दिनमा केही समय सुमधुर संगीत सुन्ने बानी बसाल्नु राम्रो हुन्छ । साथै, उत्प्रेरणामूलक पुस्तक बढ्दा सकारात्मक सोच राख्न मद्दत गर्छ ।
बिहानीपखको घाममा बस्ने, फ्रेस हावामा टहल्ने बानीले पनि शरीरमा स्पूmर्ति दिलाउनुका साथै मनलाई ताजा महसुस गराउँछ ।
(एजेन्सीको सहयोगमा)