काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ। प्रदेशसभाका सचिव कृष्णहरी खड्काका अनुसार हिजो बसेको कार्यव्यवस्था परामर्शको बैठकले मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो। सोही अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव सचिवालयमा दर्ता गराउनुभएको हो।
सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।