काठमाडौं। आज महाशिवरात्रि पर्व भगवान शिवको उपासना गरी मनाउने क्रम जारी छ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिर र देशभरका शिवालय मन्दिरमा विहानैदेखि अहिलेसम्म भक्तजनको भीड लागेको छ।
महाशिवरात्रि भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो। हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ। महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो।
फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्री पर्व मनाईन्छ । सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए भन्ने गरिन्छ । शिवरात्रीलाई बिशेष किन मानिएको हो त? यसबारे स्वामी विजयानन्द सरस्वतीको धारणा यस्तो छ ।
हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। भगवान शिवका लागि आजको रात निकै नै पृय रात हो । जसको कोही छैन उसको साथमा भगवान शिव रहनुभएको आचार्य पुरु बताउनुहुन्छ ।
आज देश विदेशबाट आएका शिवभक्तहरुको पनि पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ। विशेषत शिवको जन्म भएको साँझलाई शिवरात्री मनाउने गरिएको हो । तर यसै दिन शिवको विवाह भएको रोचक प्रसङ् पनि यहीँ जोडिन्छ । आजका दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेलपत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्ने चलन छ ।
शिवलिंगमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्म यस पर्वमा हुने गर्दछ । शिव भगवानलाई जल र बेलपत्रले मात्र पुजा गरे पनि खुशी हुने र आजको दिन रात्रिको पुजा निकै महत्वपुर्ण रहेको स्वामी विजयानन्द सरस्वतीको भनाई छ।
महाशिवरात्रिको अवसरमा देशभरका शिवालयमा अहिले पनि विधिपूर्वक पूजा, आराधना गर्ने क्रम जारी छ । भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा भीड निकै रहेको छ।
भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको थियो।एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गरिरहेको पशुपति विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीले बताउनु भएको छ।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। यसवर्षको महाशिरात्रिमा भोलि विहानसम्म कम्तीमा पनि १५ देखि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ ।