काठमाडौं । पछिल्लो समय मुलुकमा बढ्दै गएको भ्रष्टाचारका कारण देश थिलथिलिएको छ । स्थापित दल भागबण्डाको राजनीतिमा होमिएपछि जनतामाथि ठूलो कुठाराघात हुँदै गएको हो । समानुपातिकका नाममा परिवारका नातेदारहरूको भरणपोषण, विभिन्न संवैधानिक नियुक्तिमा दलकै भागबण्डाका कारण यहाँको प्रणालीमाथि नै चुनौती थपिँदै गएको छ । भ्रष्टाचारको छानबिन गर्ने निकायमै भागबण्डा, न्यायालयमा भागबण्डा हुने गरेकै कारण मुलुकका प्रशासनिक निकाय कमजोर बन्दै गएका हुन् । पूर्वसचिव शारदाप्रसाद त्रितालका अनुसार दलहरूको अकर्मण्यताका कारण भ्रष्टाचार बढ्दै गएको छ । नेताहरूले देशलाई भ्रष्टाचार मुक्त बनाउन नभई आफू र आफ्नाहरूले गरेका कुकृत्यलाई सफाइ दिने काम गरेको त्रितालको दाबी छ ।
भ्रष्टाचार अन्त्य गर्नका लागि दोषी जो सुकै भएपनि कारबाहीको दायरामा आउन जरुरी हुन्छ । तर, यहाँ आफन्तको मुख हेर्ने प्रवृत्तिका कारण तस्कर र भ्रष्टाचारीहरूको बिगबिगी रहेको छ । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कंडेलले भ्रष्टलाई संरक्षण गर्न नहुने स्पष्ट पार्नुभयो । प्रणालीको दोष नभई व्यक्तिको चरित्रले देश डुबाएको उहाँको भनाइ छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङले ठूलो आकारको भ्रष्टाचारमा उन्मुक्ति पाउने ट्रेण्ड बसेको दाबी गर्नुभयो । भ्रष्टाचारीलाई कारबाही गरेर यसको अन्त्य हुने नभई भ्रष्टाचारीलाई कारबाही गर्ने निकायहरू पारदर्शी हुन जरुरी छ ।
विश्व परिदृश्यमा अल्पविकसित राष्ट्रहरूमा भ्रष्टाचार नराम्ररी जरो गाडेर बसेको छ । विश्वका अतिकम विकसित मुलुकहरूमध्येमा पर्ने नेपाल पनि यस रोगबाट अछुतो छैन । नेपालमा भ्रष्टाचारबारे जे जति अध्ययन र चर्चा गरिन्छन् तिनीहरू बढीजसो आर्थिक पक्षमा नै केन्द्रित रहेका पाइन्छन् । नेपालमा भ्रष्टाचारको चर्चा गर्दा राणाकाल अघिको समयको खासै चर्चा पाउन सकिएको छैन तथ्यहरू केलाउँदा के पाइन्छ भने तत्कालीन राणा शासकहरूले जनताको ठूलो आर्थिक र सामाजिक शोषण गरेका थिए र राष्ट्रको ढुकुटीमाथि हालीमुहाली गरी आफ्ना लागि ठूला ठूला महल बनाउने र विलासी कार्यमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको पाइन्छ । त्यही स्थितिलाई जनताका नेता भन्ने अहिलेका शासकले पनि अवलम्बन गर्दै आएका छन् ।