काठमाडौं । अभिनेता पल शाह रिहा भएका छन् ।बलात्कारको आरोप लागेका शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो ।
जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उनी सोमबार छुटेका हुन् । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
रिहा भएपछि पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।
बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि रिहा भएका हुन् । उनी सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भएका हुन् ।