एजेन्सी । जापानमा हालका मुख्य क्याबिनेट सेक्रेटरी योशिहिडे सुगा नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को संसदीय दलमा भएको मतदानमा विजयी भएपछि उनको प्रधानमन्त्री बन्ने बाटो सुनिश्चित भएको हो । उनले ३७७ मत प्राप्त गरेका छन् ।
सुगा सिन्जो आबेको स्थानमा संसदीय दलको नयाँ नेताको रुपमा चयन भएका हुन् । सुगा आबेका निकटका व्यक्ति मानिन्छन् । त्यसैले बाँकी कार्यकालमा उनले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रधानमन्त्री आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै गत महिना राजीनामा दिएका थिए ।
बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडिपीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ ।
नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।