जेरुसलेम । संयुक्त राष्ट्र संघले इजरायलमा कार्यालयको गाडीभित्र यौन क्रियाकलाप गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बित गरेको छ ।
तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्र संघको चिह्न अंकित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो ।
रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा एक जनासँग यौनिक मुद्रामा बसेको भिडिओ सार्वजनिक भएपछि राष्ट्र संघले निलम्बन गरेको हो ।
अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्र संघले त्यसबारे अनुसन्धान सुरु गरेको छ ।
राष्ट्रसंघीय महासचिवका प्रवक्ता स्टेफन ड्युजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताए ।
राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरायलस्थित राष्ट्रसंघीय शान्तिसेनाको मिसन यूएनटीएसओमा कार्यरत भएको पुष्टि गरेको हो । उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन् ।
उनीहरू घटनाबारे अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि बेतलबी बिदामा बस्ने गरी निलम्बनमा परेका हुन् ।
प्रवक्ता ड्युजरिकले बीबीसीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले उक्त कारबाही उचित रहेको बताएका छन् ।
शान्ति स्थापनामा खटिएका र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रसंघले लामो समयदेखि छानबिन गर्दै आएको छ । पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन् ।
एउटा प्रतिवेदनअनुसार सन् २०१९ मा राष्ट्र संघका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहार गरेको आरोप लागेको थियो । तीमध्ये १६ वटा पुष्टि भएका छन् भने १५ वटा पुष्टि हुन सकेनन् । अन्यमा अनुसन्धान चलिरहेको छ । (बीबीसी