काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ‘ख्यास्स पुतली’ तीजगीत निकालेर विवादमा तानिएका दुर्गेश थापालाई बहिस्कार गरिएको नभएर सदस्यताबाट बञ्चित गरिएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, विकृति विसंगति न्यूनीकरण कार्यदलका संयोजक शिव हमाल र महासचिव सुवास केसीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताउनुभएको हो ।
दुर्गेशलाई गीत प्रकाशनपूर्व नै प्रतिष्ठानबाट समाजमा अपाच्य मानिएको ‘ख्यास्स पुलली’ शब्द हटाउन अनुरोध गरेको तर उनले वेवास्ता गरेकाले आफूहरुले कारवाही अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ । र यो प्रतिष्ठानको विधानसम्मत रहेको बताइएको छ ।
‘उक्त शब्द संशोधन गर्न गरेको अनुरोध वेवास्ता गरी दुर्गेश थापाले प्रतिठानसँग आफ्नो कुनै सम्बन्ध नभएको हलुवा स्पष्टीकरण दिएको हुनाले यस प्रतिष्ठानले ०७८ साउन १७ गते बसेको केन्द्रीय समितिको बैठकबाट विधानत परिच्छेद (७) धारा (२६) को उपधारा १ बमोजिम निजको साधारण सदस्यसमेत नरहनेगरी सदस्यता खारेज गर्ने निर्णय गरेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा लेखिएजस्तो बहिष्कार होइन सदस्यताबाट बञ्चित गरिएको हो । साथै, लोक संगीत सुधचिन्तकका सम्पूर्ण गुनासो र खबरदारीमा प्रतिष्ठान विधानसम्मत् परिधिमा रही राज्यका सम्बन्धित निकायमा सुधारका लागि अनुरोध गरिन्छ ।’
यसैबीच, गायक थापाले प्रतिष्ठानको कदमविरुद्ध भन्दै ‘बहिष्कार’ गीत निकाल्ने तयारी गरेका छन् । त्यसको टिजर पनि आइसकेको छ ।
