एजेन्सी – सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा गरिएको आतङ्ककारी हमलाका पीडितका आफन्तहरूले उक्त आक्रमणबारे गोप्य राखिएका विवरण सार्वजनिक नगरी उक्त घटनाको स्मृति दिवसमा भाग नलिन राष्ट्रपति जो बाइडनलाई अनुरोध गरेका छन् । झन्डै १,७०० मानिसले पत्र लेख्दै ती दस्ताबेज सार्वजनिक गर्न माग गरेका हुन् ।
ती कागजपत्रले साउदी अरेबियाका अधिकारीहरूले सो हमलाको तानाबाना बुनेको देखाउने पीडितका परिवारले दाबी गरेका छन् ।
अमेरिकी इतिहासकै सबैभन्दा घातक उक्त आतङ्कवादी हमला अल कायदाले गराएको थियो र त्यसमा झन्डै तीन हजार मानिस मारिएका थिए ।

सो हमलामा संलग्न १५ जना अपहरणकर्तामध्ये नौ जना साउदी अरेबियाका नागरिक थिए ।
यसकारण, साउदी अरेबियाले आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
तर पीडितका परिवारले लामो समयदेखि साउदी अरेबियाका अधिकारीहरूलाई हमलापूर्व नै आक्रमणको जानकारी रहेको तर उनीहरूले त्यसलाई रोक्न केही नगरेको बताउँदै आएका छन् ।
उनीहरूले साउदी अरेबियाको सरकारविरुद्ध मुद्दासमेत हालेका छन् ।
ती मुद्दाका कारण अघिल्लो महिना कैयौँ साउदी पूर्वअधिकारीहरूलाई सोधपुछ गरिएको थियो ।
तर उनीहरूले दिएका बयानलाई गोप्य राखिएको छ जसले पीडितका परिवारलाई थप आक्रोशित बनाएको छ ।
(बिबिसीको सहयोगमा)