एजेन्सी – चिनियाँ विदेशमन्त्री वाङ यीले तालिवान नेता मुल्लाह अब्दुल घानीसहितको टोलीलेसँग भेटवार्ता गरेका छन् । आफूलाई भेट्न चीन पुगेको घानी नेतृत्वको टोलीसँग विदेशमन्त्री वाङले बुधबार देशको उत्तरपूर्वी शहर तियान्जिनमा भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा विदेशमन्त्री यीले अफगानिस्तानको पुनर्संरचना र मेलमिलापमा तालिवानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
चीनको राष्ट्रिय सुरक्षालाई प्रत्यक्ष खतरामा पार्न सक्ने इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्टलाई नसघाउन पनि उनले तालिवानलाई आग्रह गरेको बताइएको छ ।
जवाफमा तालिवान नेताहरूले चीनलाई खतरा हुने कुनै कामका लागि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ ।
अमेरिकी र नाटो सैनिक अफगानिस्तानबाट फर्किएलगत्तै तालिवानले चीनसँग सम्बन्ध बढाउन खोजेको छ । यसलाई पश्चिमाहरुले अर्थपूर्णरुपमा हेरेको बताइएको छ ।