एजेन्सी –विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड –१९)को डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशन खोप लगाएकालाई पनि संक्रमित गर्न थालेको भन्दै चेतावनी दिएको छ ।
डब्लुएचओले डेल्टाको नयाँ म्यूटेशन थप सङ्क्रामक र खतरनाक रहेको भन्दै कोरोनाविरुद्ध खोप लगाइसकेकाहरुमा पनि सङ्क्रमण गराउन थालेको बताएको छ । संगठनका प्रमुख डा. एड्हनोम घेबे्रयससले हालसम्म डेल्टाको नयाँ म्यूटेशन विश्वका ८५ मुलुकमा फेला परिसकेको र खोप लगाएकाहरुलाई पनि संक्रमित गर्न थालेको बताउनुभएको छ ।
उहाँले कोरोनाको डेल्टा भेरिएन्टमा देखिएको म्यूटेशन बढी खतरनाक रहेको र यसले विश्वलाई फेरि खतरा तर्फ लिएर जाने भएको सबैलाई सतर्क र सावधान रहन आग्रह गर्नुभयो
यसैबीच, कोरोनाको संक्रमण रोक्न बंगलादेशमा सोमवारदेखि कडा लकडाउन गरिने भएको छ । देशव्यापी हुने लकडाउनअघि मानिसहरु गृहनगर फर्किने क्रम बढेको छ । टर्मिनल स्टेशनहरुमा धैरै संख्यामा मानिस भेला भएका छन् ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै रेल र बस सेवाहरु स्थगित गरिएको थियो । जसकारण मानिसहरु निजी सवारी साधनमा, भाडाको गाडीमा र हिँड्दै घर फर्कन बाध्य भएका छन् ।
बंगलादेशमा सोमबारबाट एक हप्तासम्म आपतकालिन काममा बाहेक कोही पनि बाहिर निस्कन पाउने छैनन् । त्यसकारण मानिसहरु आफ्नो घर फर्किने क्रम बढेको हो ।
भारतमा देखिएको कोभिड १९ को डेल्टा भेरियन्टका कारण बंगलादेशमा संक्रमणको दर बढेको छ । करिब ६ हप्ताअघि बंगलादेशमा संक्रमणको नयाँ लहर देखिएको हो ।
संक्रमणका कारण हाल बंगलादेशका अस्पतालहरु भरिएका छन् । स्वास्थ्य सेवा प्रभावित हुँदा जोखिम झनै बढेको बताइएको छ ।