काठमाडौं – सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी गरेको छ । अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खरिद गर्नका लागि सरकारले विश्व बैंकलाई आग्रह गरेको जानकारी परराष्ट्रमन्त्री रघुवीर महासेठले जानकारी दिनुभयो ।
जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज ल्याउन विश्व बैंकलाई भनिएको मन्त्री महासेठले बताउनुभयो ।
४५ दिनभित्र खोप दिन सरकारले भनेको तर, जोन्सन एन्ड जोन्सन कम्पनीले ९० दिन मागेको जानकारीसमेत महासेठले दिनुभयो । साथै, नन–डिस्क्लोजर सहमतिअनुसार चीनको साइनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु हुन लागेकोसमेत उहाँले बताउनुभयो ।
प्रक्रिया सुरु गर्न स्वास्थ्य मन्त्रालयले सहमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले चीनसँग खोप खरिदका लागि सहमति प्रस्तावलाई अनुमोदन गर्ने सम्भावना रहेको जनाइएको छ ।
सरकारले इजरायलसँग पनि खोप खरिदका लागि संवाद गरिरहेको महासेठले जानकारी दिनुभयो । आगामी मंसिर ३ गतेभित्र सबै नेपाली नागरिकलाई दुबै डोज खोप लगाउने सरकारको योजना रहेको महासेठको भनाइ छ । सबै नेपालीलाई खोप लगाउन अढाइ करोड खोप आवश्यक पर्न सक्ने र खरिद गर्नुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपति कार्यालयले पनि केही सातामै खोप खरिदबारे ब्रेकथ्रु हुने बताएको छ । राष्ट्रपतिका संचारविज्ञ टीका ढकालले केही साताभित्रै पत्राचार गरिएका मुलुकबाट खोप खरिदबारे निर्णय हुने सम्भावना रहेको बताउनुभयो ।