काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका पूर्व सभापति डा.गंगाधर अधिकारीलाई भारतको गान्धी ग्लोबल पीस फाउन्डेसनले मानार्थ विद्यावारिधिको उपाधी प्रदान गरेको छ ।
अधिकारीले गान्धीय दर्शन, शान्ति र मानवतामा उल्लेखनीय योगदान पु¥याएको भन्दै डा. अधिकारीलाई सम्मान स्वरुप मानार्थ विद्यावारिधि दिएको हो । डा. अधिकारीको यो सम्मानले गान्धीय मूल्य, शान्ति र मानवताको क्षेत्रमा नेपालबाट भएका प्रयासहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने अपेक्षा गरिएको छ ।
भारतको भुवनेश्वर, ओडिशामा अवस्थित महात्मा गान्धी ग्लोबल पीस फाउन्डेसन अन्तर्राष्ट्रिय संस्था हो । जसले शान्ति, मानवता र गान्धीय दर्शनको प्रवद्र्धन गर्दै आएको छ । अधिकारीले सामाजिक गतिविधिहरूको प्रवद्र्धन, गान्धीय संस्कृति संरक्षण, मानवीय सेवा तथा राष्ट्र निर्माणमा ज्ञान विकासमा पु¥याएको योगदानलाई सम्मान गर्दै उपाधि दिइएको संस्थाले जनाएको छ ।
यो उपाधी शैक्षिक डिग्री भने नभएको पनि स्पष्ट पारेको छ । अधिकारीले यस अघि महेन्द्र संस्कृत विश्वविद्यालयबाट पिएडी गरिसकेका छन् । बागलुङको जैमिनी ८ छिस्तीमा जन्मिएका अधिकारी एक अनुभवी कूटनीतिज्ञ, मानवअधिकार अभियन्ता, शिक्षाविद्, कानुन व्यवसायी, लेखक तथा सामाजिक अभियन्ता हुन् ।
अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका छन् । अधिकारी क्याम्ब्रिज इन्टरनेशनल कलेजका संस्थापक अध्यक्षको जिम्मेवारीमा छन् । अधिकारीले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको सदस्यका रुपमा पनि काम गरिसकेका छन् ।
डा. अधिकारीले लोकतान्त्रिक आन्दोलन, प्रेस स्वतन्त्रता, सामाजिक न्याय र मानवअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका छन् । सोही योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।