Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

“सद्गमय” कन्क्लेभ आजबाट आउँदै !

“सद्गमय” कन्क्लेभ आजबाट आउँदै !

  • आइतवार, बैशाख ६ २०८३

  • 795
    SHARES

  • “सद्गमय” कन्क्लेभ आजबाट आउँदै !

    काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम सद्गमयको तेस्रो संस्करण वैशाख ६ गते, आइतबारबाट सुरु हुन लागेको छ । आवाजविहीनहरूको आवाज समेट्ने कार्यक्रम सद्गमय का यसअघि पहिलो र दोस्रो संस्करण निकै लोकप्रिय भएका थिए । विगतका दुई संस्करणमा उठेका विषयवस्तुहरूलाई समेटेर तेस्रो संस्करणलाई ‘कन्क्लेभ’ का रूपमा पस्कन लागेको आयोजकले जनाएको छ।

    मूलप्रवाहीकरण हुन नसकेका तमाम मुद्दाहरूलाई मूलधारमा ल्याउन तथा कानुन, नीति, नियम र निर्णयमा मार्गदर्शक बन्ने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रमका प्रस्तोता तथा जनआवाजका पैरवीकर्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

    सद्गमय कार्यक्रम सामाजिक रूपान्तरणका लागि निर्माण गरिएको भएकाले कसैलाई आरोप–प्रत्यारोप नगर्ने र दलगत प्रभावबाट मुक्त रहने उहाँले दाबी गर्नुभयो । यो कार्यक्रम केवल टेलिभिजन कार्यक्रम मात्र नभई मुलुकलाई दिशानिर्देश गर्ने उद्देश्यले निर्माण गरिएको उहाँको भनाइ छ । कार्यक्रमको हरेक शृंखला ४५ मिनेटको हुनेछ ।

    कार्यक्रमको पहिलो र दोस्रो संस्करणमा दर्शक तथा श्रोताबाट प्राप्त सुझाव र कार्यक्रमको उद्देश्यप्रति विज्ञापनदाताहरूबाट आएको सकारात्मक प्रतिक्रियाका आधारमा तेस्रो संस्करण ल्याउन आफूहरू तयार भएको कार्यक्रमको निर्माण तथा बजार व्यवस्थापन गरिरहेको संस्कृति एड्भरटाइजिङका निर्देशक तेजमणि दाहालले बताउनुभयो । कार्यक्रममा राज्यले नसुनेका, सरकारले नदेखेका र ध्यान नदिएका विषयहरूलाई खुला आवाजका रूपमा प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रम हरेक आइतबार राति ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ भने नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्क अनलाइन टिभी युट्युब च्यानलमार्फत पनि हेर्न सकिनेछ । साथै, देशभरका श्रोताले नेपाली रेडियो नेटवर्कमार्फत आइतबार राति ८ बजेको नेपाली खबरपछि सद्गमय सुन्न सक्नेछन् । कार्यक्रमको मिडिया पार्टनरका रूपमा जनबल डटकम रहेको छ ।

    कार्यक्रममा राज्यका मूलधारमा नआएका क्षेत्रगत विषयहरूलाई विज्ञ तथा सरोकारवालाहरूबीच सूक्ष्म विवेचना, छलफल र विश्लेषण गराइनेछ । छलफलबाट निस्केका मुख्य निष्कर्षहरूलाई सुझावका रूपमा सरोकारवाला निकायलाई हस्तान्तरण गरिनेछ ।

    कार्यक्रमको निष्कर्षले नीति, कार्यक्रम र बजेट निर्माणमा मार्गदर्शन गर्ने निर्देशक दीपक समीरले दाबी गर्नुभयो । तेस्रो संस्करणबाट प्राप्त निष्कर्षहरूलाई कार्यपत्रका रूपमा पुस्तक प्रकाशित गरी देशभर पुनः छलफल चलाइने उहाँले बताउनुभयो ।

    कुल १५ शृंखलाको हुने तेस्रो संस्करणमा वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग, पर्यटन, बैंकिङ, बीमा, जलवायु परिवर्तन, परराष्ट्र नीति, सञ्चार क्षेत्र, स्थानीय तह लगायतका विषयहरू समावेश गरिनेछन् । यस कार्यक्रमको उत्पादनका लागि एलआईसी, करेन्ट नुडल्स, एभरेष्ट बैंक र एनसेलले सहयोग गरेका छन् ।

     


    आइतवार, बैशाख ६ २०८३०३:२९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij