काठमाडौँ – कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ । संक्रमितहरु अस्पताल भर्ना हुने क्रम पनि बढिरहेको छ ।
संक्रमितहरु यसरी नै बढिरहे अस्पतालमा बेड अभाव हुन सक्ने चिन्ता एकातिर छ भने उपचार नपाएर अकालमै ज्यान गुमाउनुर्ने स्थिति पनि आउन सक्ने चेतावनी छिमेकी राष्ट्र भारतको अवस्थाले नेपाललाई दिइरहेको छ ।
चिकित्सकहरुले भने गम्भीर अवस्थामा बाहेक कोरोना संक्रमितले घरमै बसेर पनि कोरोनालाई पराजित गर्न सक्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलाले लक्षण नभएका तर पीसीआर पोजेटिभ भएका व्यक्तिहरुले ९ दिन घरमै आइसोलेसनमा बसे पुग्ने बताउनुभयो ।
यसबाहेक सामान्य ज्वरो आउने, अलिअलि टाउको दुख्ने र सामान्य पखाला लाग्ने लक्षण देखिएका व्यक्तिहरुले पनि डराउन नपर्ने डा. बास्तोलाले बताउनुभयो । यस्ता लक्षण भएका व्यक्तिहरुले चिकित्सकको परामर्शमा घरमै औषधि सेवन गरेर कोरोना पराजित गर्न सक्ने उहाँले बताउनुभयो ।
तर यदि कोरोना संक्रमित भएको पाँचौ देखि छैठौँ, सातौँ दिनसम्म पनि ज्वरो कम नहुने बरु निरन्तर बढ्ने, खोकी लागिरहने तथा टाउको अत्यधिक दुख्ने र छाती पनि दुख्ने समस्या भएमा भने निमोनियाले गाँज्न सक्ने खतरा हुन्छ । यस्तो अवस्थामा भने तुरुन्तै अस्पताल जानुपर्ने डा. बास्तोला बताउनुहुन्छ ।
अहिले घरमै रहेका संक्रमितहरुमा मानसिक समस्या उत्पन्न हुन थालेकोमा पनि चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । मानसिक समस्याबाट दूर रहन सामाजिक सञ्जालमा देखिने कोरोना सम्बन्धीका नकारात्मक समाचार तथा तस्बिरहरुबाट आफूलाई टाढा राख्न डाक्टरहरुको सुझाव छ । डा. बास्तोलाले घरमै बसिरहेका संक्रमितहरुले सामाजिक सञ्जाल हेरेर तर्सिने काम गर्न नहुने सुझाव दिनुभयो । उहाँले दृघरोगीहरुको विशेष ख्याल राख्न पनि सुझाव दिनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि कोरोना सम्बन्धीका नकारात्मक समाचारहरुबाट आफूलाई प्रभावित पार्न नहुने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमा आउने भयावह ढंगका समाचारहरुले बिरामीको मनोबल घट्ने भएकाले यस्ता गतिविधिबाट सकेसम्म टाढै रहन सुझाव दिनुभयो ।
डा. पुनले घरमै बसेका संक्रमितहरुले आफ्नो शरीरमा अक्सिजनको मात्रा कति छ भनेर निरन्तर थाहा पाइरहन अति आवश्यक रहेको बताउनुभयो । अक्सिजनको मात्रा थाहा पाउन खल्तीमै बोकेर हिँड्न सकिने पल्स अक्सिमिटरको प्रयोग गर्न सकिन्छ ।
अहिले सबै परिवारले कम्तीमा एउटा अक्सिमिटरको जोहो गर्न आवश्यक रहेको डा. पुनले बताउनुभयो । अक्सिजन लेभल ९२ भन्दा कम भएमा चिकित्सकसँग परामर्र्श लिनुपर्ने उहाँले बताउनुभयो । अक्सिजनको मात्रा कम भएपछि ओठ निलो हुने, स्वास फेर्न गाह्रो हुने लगायतका लक्षणहरु देखिने गरेका डा. पुनले बताउनुभयो ।
यसैबिच नेपालमा पछिल्लो पटक थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।
यो अवधिमा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।