काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गर्ने खतरा बढेको बताउनुभएको छ ।
उहाँले छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निरन्तर बढेकाले नेपालमा पनि खतरा बढेको उल्लेख गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. गौतमले भन्नुभयो,“हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा पवेश गरेको छ्रैन् तर छिमेकी मुलुक भारतमा संक्रमण बढेकाले नेपालमा सर्तकता अति आवश्यक भइसकेको छ, नागरिकहरुले पछिल्लो समय कोरोनालाई वेवास्ता गरेको देखिन्छ त्यसो नगर्दिन हुन म अनुरोध गर्दछु, कोरोना हटेको छैन् ।”
यस वर्ष भीडभाडमा गएर होली पनि नखेल्न उहाँले अनुरोध गर्नुभएको छ । प्रवक्ता डा. गौतमले कारोना पूर्णरुपमा निर्मूल भइसकेपछि अर्को वर्ष पनि होली खेल्न सकिने भएकाले वेवास्ता नगर्न अनुरोध गर्नुभएको छ ।
सरकारले मात्रै कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उहाँले सबैको साथ सहयोग आवश्यक पर्ने स्पष्ट पार्नुभएको छ ।
भारतसँगका केहि सीमानाकामा शंकास्पद व्यक्तिहरुको कोरोना टेष्ट गर्ने कार्य सुरु गरिएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो । उहाँले अरु नाकाहरुमा पनि उक्त कार्य सुरु गरिने बताउनुभयो ।
कोरोना भाइरसविरुद्धको खोपबारे भ्रम छरिएको बताउदैँ उहाँले नेपालले सहि समयमा भ्याक्सिन ल्याएर खोप अभियान सुरु गरेको दावी गर्नुभएको छ ।
अबको एकहप्ताभित्र चीनबाट ८ लाख डोज भ्याक्सिन नेपाल आउने प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यसैगरी, सिरमबाट १० लाख डोज भ्याक्सिन ल्याउन पेमेन्ट गरिएको र कोभ्याक्समार्फतको १९ लाख डोज खोप निकट भविष्य मै नेपाल आउने उहाँले बताउनुभयो ।