Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रधानमन्त्रीपत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’को एउटा अंश

‘पटक–पटक मरेर पनि बाँचेका थिए मेरा श्रीमान्’

‘पटक–पटक मरेर पनि बाँचेका थिए मेरा श्रीमान्’

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 3.7K
    SHARES

  • ‘पटक–पटक मरेर पनि बाँचेका थिए मेरा श्रीमान्’

    काठमाडौं । प्रधानमन्त्रीपत्नी राधिका शाक्यले श्रीमान् तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक जीवनमा भोग्नुपरेका कठिनाइ, राजनीतिक संघर्ष र रोग र भोकसँग जुध्नुपरेका अनुभूतिलाई उल्लेख गरेर पुस्तक 'मेरा अनुभूति' प्रकाशित गर्नुभएको छ । पत्नी राधिकाको पुस्तकको लोकार्पण प्रधानमन्त्री ओली आफैँले गर्नुभएको छ । 

    विवाह गरेपछिको जीवन र उपचारका लागि दिल्ली, बैंकक, अमेरिकासहितका देशमा श्रीमान्लाई लगेका प्रशंग राधिकाले पुस्तकमा समेट्नुभएको छ । ओली मृत्युको मुखबाट पनि उठेका प्रसंग पुस्तकको अंशबाट लिइएको छ । अब हेरौं त्यो अंशमा के छ :

    radhika-shakya-book.jpg

    एकदिनको कुरा हो, त्यो २०७६ साल कात्तिक २० गते राति १ बजेको थियो । मेरो मनमा एउटा प्रश्न उठेको थियो, यो व्यस्त जीवन र उहिलेको जेल जीवनमा के भिन्नता छ ? मानिस आधारभूत सुविधाहरू पूर्ण भएर पनि आखिर आफ्ना लागि बाँचेको छैन भने उसले के कुरामा मन अड्याइरहेको हुन्छ ? बेलाबेला मेरा मनमा उठ्ने यस्ता प्रश्नका जवाफ उहाँसँग संवाद नगरी हमेसा आफ्नै मनोवादबाट पूर्ति गर्थें म । त्यसमा प्रश्न पनि मेरै हुन्थे र जवाफ पनि मै दिन्थेँ ।

    मैले के महसुस गरिरहेकी थिएँ भने पञ्चायती शासकले बन्दी बनाएर कठोर यातना दिएको जीवन र आज प्रधानमन्त्री जस्तो देशको सर्वाेच्च कार्यकारी पदमा रहदा काम गर्न अवरोध गरी चारैतिरबाट घेरिएको जीवनमा के भिन्नता छ र ? त्यसबेला लिएको र अहिले लिएको मुलुक बदल्ने उद्देश्यमा के भिन्नता छ र ? त्यसबेला जुन उद्देश्यका लागि जेलमा कठोर यातना सहेर संघर्ष गर्नु परेको थियो, आज त्यही उद्देश्य पूरा गर्न अगाडि सारिएका काममा अवरोध सहेर संघर्ष गर्नु परेको छ । मनमा थुनेर राखेका प्रश्नहरूको बाँध कतिबेला फुट्ला झैँ भएको थियो । मैले उहाँको जेलयात्राका बारेमा सोधेँ । उहाँले व्याख्या नगरी जेल यात्राको विवरण मात्र सुनाउनुभयो ।

    २०३० साल असोज २३ गते, रौतहटको एउटा गाँउबाट राति गिरप्तार गरी, हिंडाएर उहाँलाई गौर कारागार लगियो । २६ असोजसम्म त्यहाँ राखेर तीन दिनपछि गौर थाना र गुल्ममा लगेर क्रूरतम यातना दिइयो ।


    जेल सार्ने क्रममा उहाँले सुनाउनुभएका यसपछिका घटना विवरणले भने मलाई नराम्री ऐठन ग¥यो । उहाँले सुनाउनुभएको घटना विवरण यस्तो थियो–

    ‘गौर थानाबाट वीरगञ्ज जेल सार्ने भनी रातिको समयमा मलाई निकालियो । प्रहरीको भ्यानमा मलाई राखिएको थियो । तर, वीरगञ्ज नपु¥याउँदै बीचको जंगलमा भाग्न खोजेको अभियोग लगाउँदै मार्ने योजनासाथ जेलसारी गरिएको रहेछ । मलाई हत्कडी लगाइएको थियो, वरिपरि प्रहरी जवानहरू थिए । उनीहरूका साथमा खाल्डो खन्ने ज्यावल औजारहरू पनि थिए । एकदम तयारीसाथ गाडीमा खाल्डो खन्ने औजारसँगै मलाई राखिएको थियो । प्रहरी जवानहरूका अनुहारको भावभंगीबाट सजिलै बुझ्न सकिन्थ्यो, केहीबेरपछि नै उनीहरूले मलाई जंगलमा लगेर मार्नेछन् र खाडल खनेर पुर्नेछन् । जेल सार्न खोज्दा बीचैमा भागेर गोली चलाउँदा मारिएको एउटा कृत्रिम घटनाको प्लट बनाएर हिंड्दा मानिसको अनुहारमा जुन प्रकारको उद्वेलन र छटपटी हुन्थ्यो, उनीहरूका अनुहारमा त्यो प्रस्ट देखिन्थ्यो । जेल सार्ने जिम्मेवारी दिएर पठाइएको उक्त टोटीको नेतृत्व सई मोहनप्रसाद अधिकारीले गर्नुभएको थियो । उहाँका मनमा एक्कासी किन यस्तो करुणा उत्पन्न भयो कुन्नी, बीचमा पुगेपछि उहाँले गाडी जंगलबाट मोडेर वीरगञ्जतिर लैजान आदेश दिनुभयो । ‘गाडी दायाँ लैजा, यो बाँचोस्’ सई मोहनप्रसाद अधिकारीले एक्कासी दिएको निर्देशनले मार्न ठिक पारिएको म बाँचेँ । जब आफूलाई केही बेरपछि नै मारिनेछ भन्ने बोध हुन्छ र त्यसका लागि ठिक्क पारिएको सर्जाम देखिन्छ, त्यसले मृत्युका लागि तयार रहन बलियो बनाउने रहेछ । म त त्यसैबेला मारिसकेको थिएँ । बाँचेँ र तिमीसँग भेट भयो ।’

    उहाँले त्यस मध्यरातमा सुनाउनुभएका यी कुराले मेरो जीउमा काँडा उम्रेजस्तो भयो । तन्मयपूर्वक त्यस दिनको घटना विवरण सुन्दा मेरो मानसिकता नै केही बिथोलियो । त्यसपछि पनि उहाँले जेल सारिएका विवरण सुनाउनुभयो, तर मेरो मन भने जंगलमा मार्न खोजिएको त्यही घटनामा अड्किएको थियो ।


    मंसीर तीन गते राति उहाँलाई वीरगञ्ज थाना पु¥याइएछ । चार र पाँच गते त्यहीँ राखेर उहाँलाई ६ गते वीरगञ्जकै सानो जेल भनिने महिला कारागारमा पु¥याइएको रहेछ । त्यहाँ त्यसबेला महिला नभएकाले मंसीर ६ र ७ गते त्यहीँ राखियो । मंसीर ८ गते मध्यरातमा अर्काे मनोवैज्ञानिक आतङ्क सहित उहाँलाई त्यस जेलबाट निकालियो, काठमाडौँ सार्न भनेर । नेपाली कांग्रेसका चितवन सभापति भीमबहादुर श्रेष्ठलाई समेत सँगै हिंडाइएको थियो । मंसीर ८ गते काठमाडौंको भद्रगोल जेलमा ल्याएर तीन दिनसम्म राखियो । मंसीर ११ गते सेन्ट्रल जेल ल्याएर २०३२ वैशाख १६ गतेसम्म गोलघरमा राखियो । त्यहाँबाट फेरि २०३२ साल साउन २२ गते नख्खु जेलमा सारियो ।

    १६ महिना नख्खु जेलको बसाइपछि २०३३ मंसीर १४ गते फेरि सेन्ट्रल जेल लगेर गोलघरमा हालियो । दोस्रो पटक करिव तीन वर्ष गोलघरमा राखेपछि २०३६ साल जेठमा गोलघरबाट निकालियो । सेन्ट्रल जेलबाट २०३७ चैत १५ मा पुनः नख्खु जेल नै लगियो । करिव दुई वर्षको नख्खु जेल बसाइपछि २०३९ माघ ३ गते उहाँलाई पोखरा जेल सारियो । पोखराबाट २०४२ कात्तिकमा स्याङ्जा जेलमा पु¥याइयो । स्याङ्जा जेलबाट २०४३ मंसीर ८ गते उहाँलाई काठमाडौंको हनुमानढोका कारागारमा ल्याइयो र माघ ८ गतेसम्म त्यहीँ राखियो । हनुमानढोका कारागारबाट फेरि तेस्रो पटक भद्रगोल जेल पु¥याएर २०४४ असार ११ गते रिहा गरियो ।

    यो थियो, उहाँले मलाई त्यस मध्यरातमा आधा घन्टा लगाएर सुनाउनु भएको जेलयात्राको विवरण ।
    यसरी मध्यरातमा भए पनि मैले उहाँको जेल जीवन सम्बन्धी अनुभूतिहरू सुन्ने अवसर पाएँ । कयौंँ दिनदेखि सोध्न नपाएका प्रश्नका बाढी केही समयको लागि शान्त भयो ।

    निरङ्कुश व्यवस्था विरुद्धको संघर्षका क्रममा यस्तो कहालीलाग्दो यातनामय जेल सराइ र त्यहाँभित्रको संघर्षले उहाँको शारीरिक र मानसिक अवस्थामा कस्ता असर पारे होलान्? शारीरिक असर त हामी देख्न सक्छौंँ र त्यो भोगिरहेका पनि छौँ । मानसिक असरलाई भने व्यक्तिले कसरी ग्रहण गर्छ? त्यस अनुसारको नतिजा निस्कँदो रहेछ भन्ने उहाँको मनोबल हेरेर महसुस गर्छु । मार्न ठिक्क पारिएको, कयौंँ पटक मृत्युको मुखमा पुगेर फर्केको मानिसमा जीजिविषा यति बलियो हुँदो रहेछ भन्ने मैले केपीजीसँग अन्तरङ्ग संगतका क्रममा थाहा पाएकी छु । यसलाई आम नेपालीले बुझ्नुभएको छ भन्ने ठान्दछु ।

    मेरो बुझाइमा उक्त परिस्थितिले उहाँको शारीरिक अवस्थामा केही असर परे पनि मानसिक स्थितिमा एकरत्ति असर परेको छैन । बरु, उहाँलाई देश र जनताप्रतिको उत्तरदायित्व अझ बढी बोध गराएको छ । उहाँले मसँग बेलाबेला भन्नुभएको छ, ‘१४ वर्षको जेल बसाइमा मैले एक वर्षको जति पनि खाना खाएको छैन होला ।’ गोलघरकै बसाइमा उहाँलाई अल्सर, टीबी, पायल्स जस्ता अनेक रोगहरू लाग्यो । उपयुक्त खाना छैन, उपचार छैन । थुप्रै साथीहरूले उहाँ बाँच्नुहुन्न भन्ने ठानेर बेलाबेला हेर्न जाने गरेका कुराहरू सार्वजनिक भइसकेका छन् ।

    उहाँले जेल जीवनमा भोगेका दुई जना डाक्टरहरूको विपरीत अलग अलग चरित्रको बेलाबेला प्रसङ्ग ल्याउनुहुन्छ । अति खराब, दुष्ट र मानवीय भावना पटक्कै नभएका डा. आनन्दबहादुर श्रेष्ठ र डाक्टरी पेसाको ख्याल गर्ने र मानवीय भावना भएका डा. पुस्कर भारती थिए रे । डा. भारतीले डाक्टरको धर्म उपचार गर्नु हो भनेर केपीजीलाई केही औषधिका ‘प्रेस्किप्सन’ लेखिदिँदा डा. आनन्द बहादुर श्रेष्ठले त्यसलाई च्यातिदिएको र डा. भारतीलाई जनकपुरमा सरुवा गरिदिएको घटना उहाँले मलाई सुनाउनुभएको थियो । यस्ता डाक्टर, जसले आफ्नो पेशागत धर्म छोडेर सत्ताको लालचमा मानवमाथि अत्याचार गर्दारहेछन् । हुनत, त्यसबेलाको पञ्चायती सत्ताको लालचमा परेका डाक्टरको के कुरा गर्नु, आज पनि केपीजीको स्वास्थ्यलाई लिएर राजनीति गरिरहेका देखिन्छन् । तर, उहाँको स्वास्थ्य निरङ्कुश व्यवस्था विरुद्ध संघर्षपूर्ण राजनीतिक यात्राकै कारण कमजोर बनेको हो । यस यथार्थलाई बुझेर उहाँको स्वास्थ्यमाथि राजनीति नगरिदिए हुन्थ्यो जस्तो लागिरहन्छ ।

     

     


    बिहिवार, फाल्गुण १३ २०७७०३:२४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij