Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना खोप लगाउन १ करोड ३० लाख ‘सिरिन्ज’ किनिँदै

कोरोना खोप लगाउन १ करोड ३० लाख ‘सिरिन्ज’ किनिँदै

  • मंगलवार, माघ ६ २०७७

  • 813
    SHARES

  • कोरोना खोप लगाउन १ करोड ३० लाख ‘सिरिन्ज’ किनिँदै

    काठमाडौं । कोरोना खोप सबै जनतासम्म पुर्‍याउने उद्देश्यले सरकारले ग्लोबल टेन्डरमार्फत ‘सिरिन्ज’ किन्ने प्रक्रिया थालेको छ ।

    कोभिड खोपका लागि १ करोड ३० लाख थान सिरिन्ज किन्न स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको हो ।

    स्वास्थ्य सेवा विभागका खरीद विभाग प्रमुख उपेन्द्र ढुंगानाले कुल जनसंख्याको २० प्रतिशतलाई खोप पुर्‍याउने गरी सिरिन्ज किन्ने प्रक्रिया थालिएको बताउनुभयो । । उहाँका अनुसार प्रतिस्पर्धाका माध्यमबाट सिरिन्ज किन्ने ठेक्का स्वदेशी तथा विदेशी कम्पनीलाई दिइने छ ।

    कोभिड–१९ आपत्कालीन राहत कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक तथा विकास साझेदारहरूले सहायता दिने बताएका थिए । सोहीअनुसार विभागले सिरिन्ज किन्न लागेको ढुंगाना बताउनुहुन्छ ।

    आगामी अप्रिलभित्रै सिरिन्ज ल्याइसक्ने गरी टेन्डर प्रक्रिया अघि बढेको उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम धेरै मात्रामा सिरिन्ज किन्नुपर्ने भए पनि एकैपटक नकिनिने तर चरणबद्ध रूपमा किनिने बताउनुहुन्छ । उहाँका अनुसार पहिलो चरणको सिरिन्ज चाँडोमा अप्रिलभित्रै ल्याइने छ । स्वास्थ्य सेवा विभागका अनुसार अहिले ६० लाख थान सिरिन्ज नियमित खोप कार्यक्रमका लागि छ । यद्यपि स्टकमा भएको सिरिन्ज अरू खोपमा समेत प्रयोग गर्नुपर्ने भएकाले अहिलेको स्टक पर्याप्त नरहेको विभागका अधिकारीहरू बताउँछन् ।

    कोरोना खोपका लागि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई स्रोतको सुनिश्चिता गरिदिने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले शुरूमा ३ प्रतिशत जनसंख्यालाई तत्काल खोप लगाउने छ । पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, अस्पतालमा काम गर्ने सबै तहका व्यक्ति, महिला स्वयंसेविकालगायतलाई खोप लगाउने तयारी छ ।

    दातृ निकायबाट पनि कोभिड–१९ विरुद्धको खोप किन्न सहयोग गर्ने प्रतिबद्धता सरकारले पाइसकेको छ । दाताहरूले संयुक्त रूपमा नेपाललाई ९९ अर्ब रुपैयाँसम्म उपलब्ध गराउने प्रतिबद्धता गरिसकेको अर्थ मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् ।

    विश्व बैंक, एशियाली विकास बैंक ९एडीबी०, यूरोपेली महासंघ ईयू, फिनल्यान्ड, जर्मनी, जापान, कोरिया, नर्वे, बेलायत, संयुक्त राष्ट्रसंघलगायतबाट संयुक्त रूपमा यो प्रतिबद्धता आएको अर्थमातहतको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका एक उच्च अधिकारीले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले खोप कुन देशबाट ल्याउने भन्ने निर्णय गरेको छैन । तर, ६ मुलुकका ११ कम्पनीलाई पत्राचार भने गरेको छ ।

    कूटनीतिक नोटमार्फत कूटनीतिक संयन्त्र परिचालन गरेर खोप ल्याउन पहल भइरहेको मन्त्रालयको दाबी छ । भारत, रूस, यूएईका राजदूतलाई स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीले भेटेरै खोपका लागि सहयोग गर्न आग्रह गरिसक्नुभएको छ ।

    यो समाचार आजको अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।


    मंगलवार, माघ ६ २०७७०६:४६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij