काठमाडौं । वीर अस्पतालले कोभिडसँगै ‘नन–कोभिड’ बिरामीको पनि उपचार सुरु गरेको छ । बुधबारदेखि उक्त अस्पतालमा कोभिडसँगै ‘नन–कोभिड’ का बिरामीहरुका लागि सामान्यदेखि विशेषज्ञ सेवा सुरु गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताउनुभयो ।
निर्देशक डा.सेन्चुरीका अनुसार कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्था गर्नुका साथै अन्य ‘नन–कोभिड’का बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु विगतमा झैं प्रदान गर्न थालिएको छ । वीर अस्पतालबाट सबै बिरामीले आवश्यक सेवा लिन सक्ने उहाँले जानकारी दिनुभयो ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्यकर्मीलाई आवश्यक सम्पूर्ण सुरक्षा सामग्रीसहित बिरामीको उपचारमा परिचालन गर्न थालिएको छ । सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी कोभिड र नन–कोभिड बिरामीको उपचार थालिएको अस्पताल प्रशासनको भनाइ छ ।