काठमाडौं । नेपालमा अव पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गरी प्रयोग गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएपछि अव यसको कार्यान्वयनबारे परिक्षा र चर्चा परिचर्चा सुरु भएको छ ।
सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खोलिसकेको छ । स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने इथानोल प्रयोगलाई प्रोत्साहन गर्दै पेट्रोलको आयात घटाउने, विदेशी मुद्रा बचत गर्ने र वातावरणमैत्री इन्धनको प्रयोग बढाउने सरकारले लक्ष्य राखेको छ ।
धेरैलाई जिज्ञासा छ । र्ईथानोल भनेको के हो? ईथानेल एक प्रकारको रसायन (अल्कोहल) हो, जुन प्रायः वनस्पति वा जैविक पदार्थबाट उत्पादन गरिन्छ । यसलाई इन्धनको रूपमा पेट्रोलमा मिसाएर प्रयोग गरिन्छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको आयात घटाउने त छदैछ । इथानोल मिश्रण गरी प्रयोग गर्ने प्रक्रिया वातावरणीय प्रदूषण कम गर्न पनि धेरै नै महत्वपुर्ण हुनेछ ।
मन्त्रालयका सहसचिव (प्रवक्ता) नेत्र प्रसाद सुबेदीका अनुसार ईथानोल एक तरल पदार्थ हो, सवारी साधनमा यसको प्रयोग गर्न सके स्वच्छ ऊर्जातर्फको महत्वपुर्ण कदम हुनेछ ।
इथानोल मुख्यतः उखु, मकै लगायतका कृषि उत्पादनबाट तयार गरिने जैविक इन्धन हो, जसले पेट्रोलमा मिसाउँदा इन्धनको गुणस्तर कायम राख्दै कार्बन उत्सर्जन घटाउन सहयोग गर्ने विश्वास छ ।
आदेशको मुख्य उद्देश्य स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रोत्साहित गरी रोजगारीका अवसर सिर्जना गर्नु र विदेशी मुद्राको ठूलो हिस्सा खर्च हुने पेट्रोल आयात कटौती गर्नु पनि हो ।
यसका लागि सरकारले इथानोल उत्पादनमा प्रयोग हुने कच्चापदार्थको स्रोतसमेत स्पष्ट किटान गरेको छ । आदेश अनुसार चिनी उद्योगबाट निस्कने खुँदो (मोलासेस), नेपियर घाँस, सिमल तरुल, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको खोया, गहुँको छ्वालीजस्ता कृषि अवशेष र खानका लागि अयोग्य सडेगलेका अन्नजस्ता वस्तुलाई इथानोल उत्पादनको कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिने छ ।
इथानोल उत्पादन, भण्डारण, ढुवानी तथा प्रयोगका लागि आवश्यक प्राविधिक मापदण्ड र गुणस्तर सुनिश्चित गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सरकारको योजना छ ।
यो व्यवस्थाले स्वदेशमै इथानोल उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन मिल्नुका साथै कृषि क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । तर, यो निर्णय कार्यान्वयनमा कहिले देखि जाला त ? कार्यान्वयनको स्पष्ट समयरेखावारे मन्त्रालयका प्रवक्ता सुबेदी नयाँ बन्ने सरकारले जोडबल लगाउनुपर्नेमा जोड दिनुहुन्छ ।
पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्ब बराबरको पेट्रोलियम आयात घटाउन सकिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको तर्क छ ।
इथानोल उत्पादनका लागि नयाँ उद्योग स्थापना, औद्योगिक वातावरण, सुरक्षा, रोजगारी, कच्चापदार्थ उत्पादनलगायत क्षेत्रमा चुनौती भने छन् । तर यसलाई प्रयोगमा ल्याउन सके समग्र अर्थतन्त्रमा महत्वपुर्ण प्रभाव पर्ने र सकारात्मक उपलव्धी हासिल गर्न सकिने सरकारको लक्ष्य छ ।
उत्पादित इथानोल खरिद, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थित र नियन्त्रित गर्न सरकारको आदेशले नेपाल आयल निगमलाई एकाधिकार प्रदान गरेको छ ।
जसअनुसार इजाजतप्राप्त उद्योगहरूले उत्पादन गरेको सम्पूर्ण इथानोल अनिवार्य रूपमा आयल निगमलाई मात्र बिक्री गर्नुपर्ने छ । नयाँ आदेशअनुसार नेपाल आयल निगमले आवश्यक मापदण्ड तयार गरी इथानोल मिश्रित पेट्रोलको आपूर्ति तथा वितरण प्रक्रिया अघि बढाउने पनि भनिएको छ । आयल निगमका प्रवक्ता मनोज ठाकुर इथानोलबारे सरकारको आदेशमाथि अध्ययन र छलफल भईरहेको बताउनुहुन्छ ।
विश्वका विभिन्न देशमा १० देखि २५ प्रतिशतसम्म इथानोल मिश्रण गर्ने गरिए पनि नेपालमा हालसम्म शतप्रतिशत पेट्रोल नै प्रयोग हुँदै आएको छ । छिमेकी मुलुक भारतमा २० प्रतिशतसम्म इथानोल मिसाउने गरिए पनि त्यहाँबाट नेपाल आयात हुने इन्धनमा भने इथानोल मिश्रण हुँदैन ।
‘इथानोल मिश्रणले सवारीको इन्जिनमा समस्या ल्याउँछ कि ?’ भन्ने धेरैको चासो छ ।
तर,जानकारहरु १० प्रतिशतको मिश्रणले इन्जिनमा कुनै नकारात्मक असर नपर्ने बताउँछन् । सरकारले आदेश जारी गरेको यो अवस्थामा अब यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायको तयारी र समन्वय भने महत्वपूर्ण रहने देखिएको छ ।