काठमाडौं। राष्ट्रिय सभा सदस्य पदका लागी भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि भएको निर्वाचनमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
मतदानका लागी आगोगले बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो।
जसअन्तर्गत कोशीमा २ पालिका प्रमुखसहित ३ जना, मधेशमा एक सांसद, बागमतीमा काठमाडौंका मेयर बालेन शाह र हाम्रो नेपाली पार्टीका २ सांसद, गण्डकीमा सहकारी ठगीका आरोपीत बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, लुम्बिनीमा २ पालिका प्रमुख, सुदूरपश्चिममा २ पालिकाका मेयर(धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवा)ले निर्वाचनमा सहभागिता जनाएनन् ।
कर्णालीमा भने शतप्रतिशत मतदान भएको छ। मतदान सकिएसँगै सातै प्रदेशमा मत गणना सुरु हुँदैछ। आजै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभाका रिक्त १९ पदका लागि उम्मेदवारी दिएका ५१ जनालाई प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदान गरेका हुन्।