काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि समय पहिले गरेको अमेरिका र चिन भ्रमणमा झण्डै पाँच करोड खर्च भएको छ। गत भदौ ३० गते जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा निस्किनु भएका प्रधानमन्त्रीको खर्च पौने ५ करोड रुपैयाँ निस्केको अर्थ मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका जानुभएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ। यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो।
गत भदौको ३० गते अमेरिका प्रस्थान गर्नुभएका प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गरेर उतैबाट ५ असोजमा चीन पुग्नुभएको थियो। सो क्रममा उहाँले एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागीता जनाउनुभएको थियो।
त्यसपछि चीनका विभिन्न राज्यको भ्रमण गरी प्रधानमन्त्री स्वदेश फर्किनु भएको थियो। मुलुकमा आर्थिक संकट परेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै उहाँको आलोचनासमेत भएको थियो ।