काठमाडौं। व्यवस्था बदल्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा जनप्रदर्शन गरेका छन्। सोही क्रममा एमालेको भातृ संगठन युवा संघले पनि व्यवस्था विरोधीलाई खबरदारी गर्न भन्दै तिनकुनेमा प्रदर्शनसहितको कार्यक्रम गरेको छ। दुवै पक्षले सरकारका कदमको विरोध गरेभने प्रसाईंले यो व्यवस्थाले मुलुक उभो नलाग्ने भन्दै संघीयता खारेज गर्न आवश्यक रहेको दाबी गर्नुभयो।
विदेशिएका नेपालीहरुलाई आफ्नै भूमिमा फर्काउने अभियान चाल्नुपर्ने बताउँदै प्रसाईंले यो देशका राजनीतिक दल र तिनका नेताहरुले अर्बौँको सम्पत्ति विदेशमा लगानी गरेको ठोकुवा गर्नुभयो।नंग्रा खियाउने मानिस सधैँ निमुखा हुनुपर्ने र विचौलिया मोटाइरहने प्रणालीको अन्त्य आवश्यक रहेको उहाँको भनाइ छ।
कोणसभालाई सम्बोधन गर्दै राप्रपाका सांसद एवं प्रवक्ता ज्ञानेन्द्र शाहीले दिल्लीमा भएको १२ बुँदे सम्झौता उतै लगेर लागू गर्न सुझाव दिनुभयो।नेपाली जनतालाई हत्या गरेर मुलुकमा रजाईं गर्ने हत्याराहरु फिर्ता जान पनि शाहीको आग्रह छ। नेपालीहरुले आज पहिचान र आत्मसम्मान गुमाएको पनि उहाँको दाबी छ।
मुलुकमा राजसंस्था पुनस्र्थापना गर्न तम्सिएकाहरुले आफ्नो हैसियत बिर्सेको बताउँदै एमाले नेता महेश बस्नेतले प्रसाईंलाई दिमाग नभएको संज्ञा दिनुभएको छ। अराजकलाई समर्थन दिएर देश भड्कालोमा हाल्न खोजेको भन्दै यूवा संघ त्यसको डटेर सामना गर्ने बस्नेतको भनाइ छ।
भ्रष्टाचार, महंगी मुलुक विकासको बाधक भएको बताउँदै बस्नेतले सरकारको ध्यानाकर्षण गराउनुभयो। बल्खु प्रदर्शनमा सहभागी प्रसाईं समूह र प्रहरीबीच झडप पनि भएकोल थियो। प्रदर्शनकारीहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो।
प्रहरीले अश्रुग्यास र पानीको फोहोरो समेत प्रयोग गरेको थियो। प्रसाईं समर्थकहरूले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नामबाट प्रदर्शन गरेको हो। यो आन्दोलन निरन्तर जारी रहने उनीहरुको दाबी छ ।