काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य गगन थापाले सबै पक्षलाई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएको छ। देशका विभिन्न भागमा धार्मिक,सामाजिक,सांस्कृतिक तथा जातीय सहअस्तित्व,सहिष्णुता तथा सद्भाव भड्काउने खालका गतिविधि बढेको भन्दै उहाँले यस्तो अपिल गर्नुभएको हो ।
पछिल्लो समय उत्तेजक र द्वेषपूर्व विचार व्यक्त भएका कारण नेपालगन्जमा कर्फ्यू गर्नुपरेको विषय अत्यन्तै गम्भीर चिन्ताको विषय भएको र यसले आफ्नो ध्यानाकर्षण भएको बताउँदै थापाले सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव कायम राख्न अपिल गर्नु भएको हो ।
उहाँले भन्नुभएको छ,‘धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व,सहिष्णुता तथा सदभाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो।’
उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र रहेकाले आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रतामा कसैले पनि खलल पु¥याउन नहुने बताउनु भएको छ।
‘हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान्, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो–मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सदभाव तथा सहअस्तित्व,’ महामन्त्री थापाले भन्नुभएको छ।