काठमाडौं। नेपालगञ्जका योगराज ढकाल उर्फ रिगल भनेर चिनिने व्यक्तिले २०७२ साल असार २९गते सोही ठाउँका २९ वर्षीय चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरे । दिन देहाडै भएको हत्याले नेपालगञ्ज तनावग्रस्त बन्यो । घटनापछि भागेर भारत लुकेका रिगललाई केही समयपछि प्रहरीले पक्राउ गरेर नेपाल ल्याई जेल चलान गरेको थियो ।
चेतनको हत्या गरेको स्वीकार गरिसकेका रिगललाई २० वर्षको कैद सजाय तोकिएको थियो । तर, हालको सरकारले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्यारालाई आममाफी दिएको भन्दै पीडित परिवार काठमाडौं पुगेको छ । मृतक मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको छ ।
आज पत्रकार सम्मेलन गर्दै उहाँले आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्नुले न्याय मरेको आभास भएको बताउनुभयो ।संविधान दिवसकै दिन हत्यारालाई माफी दिइएको भन्दै रास्वपाले पनि आपत्ति जनाएको थियो । रास्वपाका सभापति रवि लामिछानेले हत्यारालाई आममाफी दिन आयोजना गरेको चियापान समारोहमा आफू नगई जुठो खान नपरेकोमा धन्य भएको बताउनुभयो ।
चेतनको हत्यारालाई कारबाहीको माग गर्दै आउनुभएका नेपालगञ्जका स्थानीय आषिश मल्लले भोलि बुधबारबाट माइतीघर मण्डलामा रिले अनशन गर्ने बताउनुभयो । कानूनी राज्यमा रिगल मात्र नभई यस्ता हत्यामा संलग्नहरु कसैलाई पनि छोड्न नमिल्ने उहाँको भनाइ छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दिनदेहाडै दौडाएर व्यक्तिको हत्या गर्ने हत्यारालाई आममाफी दिनु गलत भएको बताउनुभयो । यतिबेला नेपालगञ्ज आतंकित भएको बताउँदै ओलीले सरकारले गर्न नहुने काममा गलत अभ्यास गरिरहेको प्रति खेद प्रकट गर्नुभयो ।
नागरिकलाई हत्या गर्ने जो सुकै हत्यारा भएपनि उन्मुक्ति गरिनु हुँदैन । जसले समाजलाई आतंकित तुल्याउने गर्दछ । रिगल भनिने ती व्यक्तिले आफूले आममाफी पाइसकेपछि पनि मैले नै खुँडा प्रहार गरेको भन्दै भाषण गरेका थिए । राज्य नै यस्ता आपराधिक मानसिकता भएका व्यक्तिहरुको बचाउमा लागेपछि न्यायको आशा कसरी गर्नु ?