काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा सरकारले दिएको नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफीप्रति प्रति प्रश्न उठाउनुभएको छ।
आज जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय भोगेका रिगललाई दिइएको आम माफीको बिरोध गर्नुभएको हो। उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताउनु भयो।
अध्यक्ष ओलीले उहाँले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति पनि आपत्ति जनाउनुभयो। उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको आरोप लगाउनु भयो।
उहाँले यो देशमा न्याय छैन की यही हो न्याय? भन्दै प्रश्न समेत गर्नुभयो। अध्यक्ष ओलीले कानून नमान्ने भए अपराधीका लागि कानूनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गर्नुभयो।