Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पत्रकार महिलाको दक्षता बढाउँदै काउन्सिल

पत्रकार महिलाको दक्षता बढाउँदै काउन्सिल

  • सोमवार, आश्विन १५ २०८०

  • 470
    SHARES

  • पत्रकार महिलाको दक्षता बढाउँदै काउन्सिल
    काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता वृद्धिका लागि प्रदेशस्तरीय तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालन गर्ने सन्दर्भमा आइतबार काउन्सिलमा भएको छलफलमा सहभागी सरोकारवालाले प्रविधिमैत्री पत्रकारिताका लागि महिलालाई अभ्यस्त गराउने गरी कार्यक्रम गर्न सुझाव दिएका छन् । 
     
    पत्रकार महिलाको अवस्था, समस्या र समाधानका उपाय विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारिका समूहकी महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलालाई बिट पत्रकारितामा, नेतृत्व तहमा र पारिश्रमिकमा समेत विभेद हुने गरेको साथै कार्यस्थलमा दुर्व्यवहारको सिकार हुनुपरेको बताउनुभयो । उहाँले पत्रकार महिलालाई स्रोतमा पहुँच नभएको, समय दिन नसक्ने लगायत बहानामा अवसरबाट वञ्चित गरिएको उल्लेख गर्दै प्रेस काउन्सिल लगायत सम्बद्ध निकायले यससम्बन्धमा योजनागत रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।
     
    कार्यक्रममा बोल्दै पत्रकार पवित्रा सुनार, शोबिता रिसाल, दीपा आले, सरस्वती ढकाल, कालिका खड्का, मञ्जिमा ढकाल, शहनशीला शर्मा, सरिताश्री ज्ञवाली, दुर्गा कार्की, सिर्जना तिम्सिना, गीता चिमोरिया, वीणा सिन्हा, मनुका कुँवर, संगीता पनेरु लगायतले पत्रकारितामा निश्चित अवधिपछि वृत्तिविकास नभएको विषय संयन्त्र बनाएर समाधान गर्नुपर्ने सुझाव दिए । वक्ताहरूले प्राविधिक काममा पुरुष खोज्नुपर्ने बाध्यता अन्त्य गर्न पनि प्राविधिक सीप र डिजिटल पत्रकारिता तालिमको जरुरत भएको, सञ्चार माध्यमलाई सक्षम बनाउन निश्चित मापदण्ड तोकेर सोहीअनुसार सञ्चालनको नीति ल्याउनुपर्ने, पत्रकारितामा महिलाको नेतृत्व स्विकार्न पुरुषलाई समेत प्रशिक्षित गरिनुपर्ने लगायतका विषय राखेका थिए । 
     
    वरिष्ठ पत्रकार निर्मला शर्माले पत्रकार महिलालाई सूचनाका लागि स्रोतसँग सम्बन्ध तथा तथ्यांक विश्लेषण जस्ता कुरामा दक्ष बनाउन जरुरी रहेको औँल्याउनुभयो । 
     
    न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले एकै व्यक्तिले सबै खाले तालिम पाउने वातावरणको अन्त्य गरी आवश्यकताका आधारमा तालिम दिन आवश्यक रहेको बताउनुभयो । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले कुनै न कुनै सञ्चार माध्यममा जोडिएर पत्रकारितामा रहेका महिलालाई टिकाउन चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । 
     
    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता सम्बन्धी कानुन, गतिविधि र कार्यक्रम सबै महिलामैत्री हुन जरुरी रहेको औँल्याउँदै महिलाको नेतृत्व हुने हो स्वीकार्य हुने बताउनुभयो । 
     
    सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले श्रमजीवी पत्रकार ऐनकै कारण पारिश्रमिकका समस्या बल्झेको उल्लेख गर्दै पत्रकारको पारिश्रमिकको विषय श्रम ऐनमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।
     
    कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाका विषयमा साढे ३ दशकदेखि एउटै बहस चलिरहेको उल्लेख गर्दै जुनसुकै क्षेत्रमा महिलाको स्थायित्वका लागि उत्प्रेरणामूलक वातावरण सिर्जना गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । 
     
    कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ पत्रकारको आकर्षण र पत्रकारिताका समस्या समाधानका लागि काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको जानकारी दिनुभयो ।
     
    काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयसँग समन्वय गरी काउन्सिलले प्रदेशस्तरमा पत्रकार महिलाको सशक्तीकरणको लागि तालिम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले गर्नुभएको थियो ।


    सोमवार, आश्विन १५ २०८००६:१४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij