काठमाडौं। चाडबाडको चहलपहल बढ्दै जाँदा बजारमा मूल्य पनि आकाशिँदै गएको छ।दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा वृद्धि भएसँगै आम सर्वसाधारण मारमा परेका छन्। वाणिज्य तथा उपभोक्ता हीत संरक्षण विभागको अनुगमनले नै मूल्यवृद्धि भइरहेको देखिएको हो।चाडबाडको समयमा कृत्रिम अभाव शुरु हुने गर्दछ।चाडबाडमा दैनिक उपभोग्य वस्तु बढी खपत हुन्छ।
त्यसलाई केन्द्रित गरेर थोकदेखि खुद्रा बजारसम्म मूल्यवृद्धि भएको छ।जनै पूर्णिमा,तीज हुँदै दशै तिहार र छठसम्मको अवधी नेपालको महत्वपूर्ण चाडबाडको समय हो। वर्षभरीमा खपत हुने केही वस्तुको आधा हिस्सा यहि चाडबाडको अवधीमा हुन्छ। केही दिनअघि मात्रै ७० हजार क्विण्टल चिनी अवैध रुपमा गोदाममा थन्किएको भेटिएको थियो।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समिति सभापति अब्दुल खानले अर्थ र उद्योग मन्त्रालयलाई कालोबजारीको नियन्त्रण गर्न निर्देशन दिइसकेको बताउनुभएको छ।तर,जनता चर्को मूल्य तिर्न बाध्य रहेका छन्।व्यापार व्यवसायको हिसावले पनि आय आर्जन हुने महत्वपूर्ण समय यही नै हो।
यसलाई ‘टार्गेट’ गरेर होस् वा विभिन्न बहानामा मूल्यवृद्धि भएको छ। उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले चाडबाडको समय हुने मुल्यवृद्धि यो मुलुकका लागि बिडम्बना रहेको बताउनुभयो। स्पष्ट नीति र खाका नहुँदा व्यापारीहरुले मनपरी गर्ने गरेको उहाँको भनाइ छ। विभागका अनुसार मूल्यवृद्धि हुनुमा धेरै कारण छ। तर,खाद्य वस्तुमा कृतिम मूल्य वृद्धि समेत भएको छ।
विभागले पछिल्लो समय गरेको अनुगमनले मूल्यवृद्धि धेरै खाद्य वस्तुमा भइरहेको देखाएको हो। चाडबाडको समयमा माग र आपूर्ति बढ्ने हुँदा मूल्यवृद्धि भइरहेको हुन्छ। यो समयमा सरकारी अनुगमन पनि निरिह हुने गरेको छ।दशैँ,तिहारको आगमन हुँदै गर्दा नेपालीहरुमा एकातिर रौनक छाएको छ,भने अर्कोतिर निराशा पनि बढाएको छ।
यसवर्ष विगतको तुलनामा अचाक्ली मूल्यवृद्धि हुने देखिन्छ। व्यापारीहरुले अहिले नै बजारमा कृत्रिम अभाव गर्न शुरु गरिसकेका छन्। जनताको ढाड सेक्न खप्पिस सरकार व्यापारीले जनहीतको पक्षमा मानवीयता देखाउन आवश्यक छ। खस्किएको अर्थतन्त्रसँगै आम्दानीको स्रोत नहुँदा जनता निकै मारमा रहेका छन् ।