Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

असुरक्षा बढेको भन्दै चिकित्सकहरु आन्दोलित, आक्रमणकारीलाई कडा कारबाहीको माग, राजनीतिक संरक्षणले घटना दोहोरिएको आरोप (खासखबर)

असुरक्षा बढेको भन्दै चिकित्सकहरु आन्दोलित, आक्रमणकारीलाई कडा कारबाहीको माग, राजनीतिक संरक्षणले घटना दोहोरिएको आरोप (खासखबर)

  • बुधवार, आश्विन १० २०८०

  • 417
    SHARES

  • असुरक्षा बढेको भन्दै चिकित्सकहरु आन्दोलित, आक्रमणकारीलाई कडा कारबाहीको माग, राजनीतिक संरक्षणले घटना दोहोरिएको आरोप (खासखबर)

    काठमाडौं। मुलुकको संवेदनशील मध्येको चिकित्सा क्षेत्र यतिबेला आन्दोलित बनेको छ । बिरामी र उनका आफन्तहरुबाट असुरक्षा बढेको भन्दै चिकित्सकहरु आन्दोलित बनेका छन् । केही समय अगाडि मकवानपुरको सञ्चो अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, पोखराको मणिपाल र पाटन अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि भएको दुव्र्यवहारको विरुद्ध चिकित्सक आक्रोशित बनेका हुन् ।

    उनीहरुले आफ्नो सुरक्षाको ग्यारेण्टी स्वयं अस्पताल र सरकारले गर्नुपर्ने भन्दै आक्रमणकारीहरुलाई कडा सजायको माग गरेका छन् ।चिकित्सकहरुमाथि हातपात र ढुंगामुढा भइरहँदा राज्यका सुरक्षा संयन्त्र मुखदर्शक बन्ने गरेको उनीहरुको आरोप छ । मणिपालको घटनालाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले आक्रमणकारीविरुद्ध मुद्धा चलाउन निर्देशन दिएपनि चिकित्सकहरु विश्वस्त भइसकेका छैनन् ।

    सबैभन्दा बढी आक्रमण हुने र असुरक्षित पेशा स्वाथ्यकर्मीहरुको बन्दै गएको उनीहरुको ठहर छ । वरिष्ठ चिकित्सक डा. भोला रिजालले राजनीतिक पहुँचबाट टाढा, सुरक्षाविहीन स्वास्थ्यकर्मीहरुमाथि सबैले आक्रमण गरेको प्रति दुःख व्यक्त गर्नुभयो ।

    आक्रोशित चिकित्सकहरुको भिडले आफूहरुलाई बन्दुकको व्यवस्था गर्नुपर्ने बताएका छन् । निरन्तरको आक्रमणले आजित भएको भन्दै उनीहरुले सुरक्षाको ग्यारेण्टी नहुञ्जेल आन्दोलन नरोकिने चेतावनी दिएका छन् । नेपाल चिकित्सक संघका पूर्व उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले स्वास्थ्यकर्मीहरुमाथि भइरहेको प्रहारले उनीहरु ठूलो दबाबमा परेको बताउनुभयो । सीमा नाघेपछि मात्रै चिकित्सक आवेशमा आएको पौडेलको भनाइ छ ।

    स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् । दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने उनीहरुको भनाइ छ । स्वास्थ्य विश्लेषक सुवास प्याकुरेलले विभिन्न देशमा यस्ता घटना भइरहने बताउँदै नेपालमा नीति र पर्याप्त छलफलको खाँचो रहेको बताउनुभयो ।

    कानुनीराज्य भएको भए घटना भएलगत्तै पक्राउ परी जेलमा जानुपर्ने बताउँदै उनीहरुले घटना दोहोरिँदा पनि कारबाही नभएकोप्रति दुख प्रकट गरेका छन् । पटकपटकको चिकित्सक र नागरिक विवादप्रति राज्य संवेदनशील हुन जरुरी रहेको देखिन्छ । स्वास्थ्यकर्मीको आचरण, व्यवहार, अस्पतालको लापरवाही र नागरिक उदण्डतालाई एकै ठाउँमा राखेर बहस गर्नुपर्ने देखिएको छ ।


    बुधवार, आश्विन १० २०८००८:२९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij