काठमाडौं। सीमा संबन्धी जानकार एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण फलदायी हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो,‘हाम्रा प्रधानमन्त्रीलाई चीनले आदर सत्कार ठूलो गर् यो तर फल सानो आएको छ । एक दर्जन जति सम्झौता भए, तर पुरानै कुरा दोहोराउने काम मात्र भए । चीनसँग भाइचारा, मित्रता कायम गने कुरामा अघि बढेको छ । तर नेपाली जनतालाई फाइदा हुने खालका नयाँ कुरा केही भएको छैन । प्रधानमन्त्रीको चीन भ्रमण खास सफल भएको मलाई लाग्दैन ।’
सीमाविद् श्रेष्ठले बेल्ट रोड एन्ड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा नेपालले तत्परता नदेखाएकाले चीन बेखुसी भएको पनि औंल्याउनु भयो ।२०७४ मा बीआरआई हस्ताक्षर हुनुभन्दा पहिले नै सुरुवात भइसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भागमा समेत बीआरआई अन्तर्गत बनेको भनी दाबी गरेकोबारे पनि कुराकानी हुन नसकेको बताउनुभयो ।
उहाँले चीनले गत भदौ ११ मा निकालेको नयाँ नक्सामा नेपालको चुच्चे नक्साको कालापानी, लिम्पियाधुरा र लिपुलेक भारततिर पारेको विषयमा प्रधानमन्त्री प्रचण्डले एक शब्द उच्चारण नगर्नु दुःखद भएको बताउनुभयो ।