काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मुलुकको पहिलो दलको हैसियतले पूरा गर्नुपर्ने अभिभारामा ह्रास आएको भन्दै नेताहरुले नेतृत्वको ध्यानाकर्षण गरेका छन् । जनताले सबैलाई गोलबन्ध गरेर लैजानसक्ने शक्ति र नेतृत्व खोजेको भन्दै त्यो परिपाटी स्खलित हुँदै गएको केन्द्रीय सदस्यहरुको तर्क छ ।
सरकारबाट जनताले गरेको अनुभूति पर्याप्त नभएको उनीहरुको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले गठबन्धनको पहिलो दल भएकोले जनताका आकांक्षा आफूहरुमाथि बढी रहेको बताउनुभयो । सत्तासाझेदार दलहरुले जनतालाई बाँडेको आश्वासन पूरा नहुँदा कांग्रेसले समेत अपजस लिनुपरेको उहाँको भनाइ थियो ।
केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गरेको कांग्रेसले मुलुकको हीतका पक्षमा हुने धेरै विषयमा बहस विमर्श गर्दै आएको छ। बैठकमा बोल्दै केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. नारायण खड्काले मास र समाजले हिरो खोजेको बताउनुभयो। आइतबार भक्तपुरमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा देखिएको नागरिक सहभागितालाई उदाहरण दिँदै उहाँले विद्यामान व्यवस्थालाई जोगाउन सबै दलहरु सुध्रिनुपर्नेमा जोड दिनुभयो।
देशमा राजनीतिक स्थिरता नहुँदा विभिन्न पक्षले कमजोरीको फाइदा उठाउने क्रम बढ्दो छ। विभिन्न धार्मिक, सांस्कृतिक सहिष्णुताका नाममा अदृष्य शक्तिले बल पु¥याइरहेको केन्द्रीय सदस्यहरुको धारणा छ। केन्द्रीय सदस्य एवं सांसद डा. चन्द्र भण्डारीले धरानमा बनेको चर्च सधैँभरीका लागि झगडाको बिउ भएको प्रष्ट पार्नुभयो। हिन्दु मन्दिरको नजिकमा जबरजस्ती चर्च खडा गर्दा पुस्तौपुस्तासम्म यसले असर गर्ने उहाँको भनाइ थियो ।
मुलुक संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरिरहेका बेला भएको शिक्षकहरुको आन्दोलनप्रति पार्टी उपसभापति एवं कार्यवहाक प्रधानमन्त्री पूर्णबहादुर खड्काले व्यक्त गरेको धारणामा नेताहरुले प्रश्न उठाएका थिए । खड्काले अपूरो सुनेर धारणा बनाइएको भन्दै शिक्षकहरुको आन्दोलनप्रति सरकार गम्भीर रहेको बताउनुभएको थियो ।
कांग्रेस बैठकमा उठेका विषयवस्तुहरु एकीकृत गरेर बिस्तारै कार्यान्वयनमा आए मुलुकलाई समेत राहत मिल्नेछ । तर, बैठकको औपचारिकता मात्रै निभाए त्यसको अर्थ रहँदैन । सिंगो मुलुकको हीतका पक्षमा उठेका विषयवस्तुप्रति सभापति र नेतृत्व गम्भीर बन्न जरुरी देखिन्छ ।।