काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना रहेको बताउनुभएको छ। आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि उहाँले यस्तो धारणा राख्नुभएको हो।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ,हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ।’
उहाँले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो।
नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।