काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा आइतबार(आज) भारत प्रस्थान गर्नुभएको छ । सोमबारदेखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापति त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आइतबार नै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुने छ।
भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति असोज ११ गते स्वदेश फर्किने कार्यक्रम छ ।