काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आम नागरिकका पीडालाई सम्बोधन हुनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । विगतमा गर्न नसकेका र नगरेका सबै कामहरूप्रति विनम्र भएर क्षमायाचना गर्दै अब नयाँ शिराबाट राजनीतिलाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
हिजोदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आज आफ्नो धारणा राख्ने क्रममा नेता सिवाकोटीले आज हरेक नागरिक आफ्ना छोरा छोरीलाई १२ कक्षा कहिले पढाएर विदेश पठाउन पाउँला भन्ने सपना मात्र देखिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया मध्यपूर्वका खाडी राष्ट्रमा गएको भीड देख्दा हर कोहीको आँखा रसाउँछ । नेपाल आज शवले छोराछोरी कुर्ने देशमा रूपान्तरित हुँदै गरेको छ । विमानस्थलको भीड दिनदिनै देख्दा पछिल्लो ३० वर्ष पटकपटक अवसर पाएका तपाई नेतृत्व तहका अग्रजहरूलाई ‘देश त हामीले बनाएको रहेछौ नि’ भन्ने लाग्दैन?’
केन्द्रीय सदस्य सिवाकोटीले विद्यार्थी विदेशमा, शिक्षकहरू सडकमा र मजदुर गर्ने मजदुरहरू मलेसिया र कतार लगायतका खाडीमा गइरहेको बताउँदै सडकमा आएका शिक्षकहरू माग तत्काल माग पुरा गरी विद्यार्थीको मौलिक हक कुण्ठित नगर्न सरकारलाई निर्देशित गर्न ध्यानाकर्षण गर्नुभएको छ ।
यस्तै, केन्द्रीय सदस्य सिवाकोटीले केन्द्रीय समितिमा मनोनयनको मापदण्डमाथि प्रश्न उठाउनुभएको छ । उहाँले भन्नुभयो, ‘ जुन मापदण्डले केही केन्द्रीय सदस्यज्यूहरू मनोनयनमा पर्नु भएको छ त्यो मापदण्डमा अन्य प्रदेशका सभापतिका प्रतिस्पर्धीहरू किन पर्नु भएन? यसअघि पनि तल्लो तहमा पराजितहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्दै गर्दा समेत विधानको पालना नभएको टिप्पणी भएकै थियो । यसो गर्दा विधानको पालना नभएको र न्याय पनि नभएको बारेमा सभापतिज्यूलाई हेक्का भयो की भएन होला? सभापतिको कुर्सीबाट सबै आफ्ना कार्यकर्ताहरूले सहानुभूति अपेक्षा गर्ने र न्यायको आस गर्नु अपराध हो र?’
केन्द्रीय सदस्य सिवाकोटीले भातृ संस्थाहरूको गठन पछि सम्बन्धित भातृ संस्थाका मूल नेतृत्वबाट नेपाली कांग्रेस केन्द्रीय समितिबाट निर्णय भए अनुसारको सर्कुलरलाई लत्त्याएर कतिपय ठाउँमा एकलौटी निर्णय गरी मातहतमा आपसी विवाद र कलह निम्त्याउने काम भएको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय समितिले निर्णय गरे विपरीतको निर्णय भातृ संस्थाका प्रमुखहरूले व्यक्ति तथा समूह केन्द्रित निर्णय गर्दा धेरै जिल्ला विवाद बढेर समानान्तर गतिविधि भएको बताउँदै उहाँले भन्नुभयो, ‘नेविसंघ, महिला संघ, किसान संघमा भइरहेका यस्ता गतिविधिप्रति सभापतिज्यू जानकार हुनुहुन्छ? म सभापतिज्यूलाई सोध्न चाहन्छु यस्तो अवस्था ल्याउने गरी भातृ संस्थाहरूलाई अराजक हुने छुट दिँदा यसले फाइदा पार्टी र संगठनलाई भएको छ त? यस्तो प्रवृत्तिको संरक्षण कसले गरेको छ सभापतिज्यू? म केन्द्रीय समितिका सबै अग्रज तथा साथीहरूलाई पनि सोध्न चाहन्छु के तपाई हामी आफैले गरेको निर्णय मातहतका भातृ संस्थाले लत्त्याउँदा आफ्नो निर्णयको लाज जोगाउन पनि त्यसको पक्षमा उभिनु पर्दैन?’ समूहको नाममा देखाइएको यो पक्षधरताले पार्टीलाई खोक्रो बनाउँछ भन्ने हेक्का राख्न जरुरी रहेको उहाँले बताउनुभयो ।