काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता सिंहदरबारमा सुरु भएको हो ।
बिहान ९ बजे आन्दोलनरत शिक्षकहरूसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।
त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गर्नुभएको थियो ।
विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरूसँग छलफल गरेका थिए ।