काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाँदै हुनुुहन्छ । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज हाङझाव जान लाग्नुभएको हो ।
न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
हाङझावमा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ । भोलीदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट्ने कार्यक्रम छ ।
चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ ।